Madhes Khabar
कृषि हेडलाइन

अन्नको भण्डारमा मधेसमा असार आधा बित्दा ३.९ प्रतिशतमात्रै धान रोपाइँ

वीरगन्ज,१५असारःअन्नको भण्डार मानिने मधेस प्रदेशमा असार १५ गते बितिसक्दा ३.९ प्रतिशतमात्रै धानको रोपाइँ भएको छ ।असार आधाआधी बित्दा देशभर १६ प्रतिशतको हाराहारीमा रोपाइँँ हुदा मधेस प्रदेशमा भने हालसम्म ३.९ प्रतिशत मात्र रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । मधेस प्रदेशमा धान खेती हुने जग्गा ३ लाख ८० हजार २ सय ८३ हेक्टर रहेकोमा अहिलेसम्म १४ हजार ७ सय ८५ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ ।

मधेसमा असार लागेपछि मात्र बीउ ब्याडमा राख्ने चलन भएकाले थोरै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ माटोविज्ञ बलराम रिजाल बताउछन् । पहाडको हकमा भने जेठ अन्तिमबाटै रोपाइँ सुरु हुने गरेको उनको भनाइ छ । ‘मधेसमा फाट्टफुट्ट मात्र रोपाइ भएको छ, पानी परिराखेको छ, अब रोपाइँले तीव्रता लिन्छ,’ उनी भन्छन् ।

हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत रोपाइँ भइसकेको छ ।कर्णाली प्रदेशमा ३९.१ प्रतिशत,बागमती प्रदेशमा २०.५ प्रतिशत,कोशी प्रदेशमा १४.३ प्रतिशत, गण्डकी प्रदेशमा १३.८ प्रतिशत, लुम्बिनी प्रदेशमा ९.७ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।

देशभर बर्खे धान १३ लाख ९१ हजार ३ सय २१ हेक्टरमा लगाइने गरिएकोमा यसपालि हालसम्म २ लाख १७ हजार २ सय ८९ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिए । देशभर अघिल्लो बर्ष असार १४ गतेसम्म १७.२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।

आर्थिक सर्वेक्षण २०८१÷८२ अनुसार कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये ४४.४ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ पुगेको खेतीयोग्य जमिन औसतमा १.५ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । २०८१ फागुनसम्म ३१ हजार ३ सय ६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको सर्वेक्षणमा जनाइएको छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ मा बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो ।जसबाट ५९ लाख ५५ हजार ४ सय ७६ टन धान फलेको थियो ।

Related posts

वीरगन्ज अशान्त बन्दै गएपछि निषेधाज्ञा हटाएर कर्फु लगाइयो

MadhesKhabar

पर्सामा जसपाको विरासत भत्काउदै काँग्रेसको सान्दार प्रदर्शन

MadhesKhabar

चिसो मौसम सुरु भएसंगै वीरगन्जमा वायु प्रदुषण बढ्कोले सावधानी अपनाउन महानगरको अनुरोध

MadhesKhabar

Leave a Comment