वीरगन्ज,१५असारःअन्नको भण्डार मानिने मधेस प्रदेशमा असार १५ गते बितिसक्दा ३.९ प्रतिशतमात्रै धानको रोपाइँ भएको छ ।असार आधाआधी बित्दा देशभर १६ प्रतिशतको हाराहारीमा रोपाइँँ हुदा मधेस प्रदेशमा भने हालसम्म ३.९ प्रतिशत मात्र रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । मधेस प्रदेशमा धान खेती हुने जग्गा ३ लाख ८० हजार २ सय ८३ हेक्टर रहेकोमा अहिलेसम्म १४ हजार ७ सय ८५ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ ।
मधेसमा असार लागेपछि मात्र बीउ ब्याडमा राख्ने चलन भएकाले थोरै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ माटोविज्ञ बलराम रिजाल बताउछन् । पहाडको हकमा भने जेठ अन्तिमबाटै रोपाइँ सुरु हुने गरेको उनको भनाइ छ । ‘मधेसमा फाट्टफुट्ट मात्र रोपाइ भएको छ, पानी परिराखेको छ, अब रोपाइँले तीव्रता लिन्छ,’ उनी भन्छन् ।
हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५.५ प्रतिशत रोपाइँ भइसकेको छ ।कर्णाली प्रदेशमा ३९.१ प्रतिशत,बागमती प्रदेशमा २०.५ प्रतिशत,कोशी प्रदेशमा १४.३ प्रतिशत, गण्डकी प्रदेशमा १३.८ प्रतिशत, लुम्बिनी प्रदेशमा ९.७ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।
देशभर बर्खे धान १३ लाख ९१ हजार ३ सय २१ हेक्टरमा लगाइने गरिएकोमा यसपालि हालसम्म २ लाख १७ हजार २ सय ८९ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिए । देशभर अघिल्लो बर्ष असार १४ गतेसम्म १७.२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।
आर्थिक सर्वेक्षण २०८१÷८२ अनुसार कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टरमध्ये ४४.४ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ पुगेको खेतीयोग्य जमिन औसतमा १.५ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । २०८१ फागुनसम्म ३१ हजार ३ सय ६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको सर्वेक्षणमा जनाइएको छ ।
चालु आर्थिक वर्ष २०८१÷८२ मा बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो ।जसबाट ५९ लाख ५५ हजार ४ सय ७६ टन धान फलेको थियो ।