Madhes Khabar
समाज

बारा : बलात्कारका घटना मिलाउन जनप्रतिनिधिहरू नै सक्रिय, वडाध्यक्ष दिनभर प्रहरी नियन्त्रणमा

जिप्रका बारा।

बारा,३०जेठ:स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु नै जबरजस्ती करणी(बलात्कार) जस्तो जघन्य अपराधको घटना मिलाउन सक्रिय देखिएका छन् । पीडितलाई दबाब दिँदै पीडकलाई उन्मुक्ति दिनेगरी उनीहरु सक्रिय बनेको एक घटना बारामा सार्वजनिक भएको छ ।

बलात्कारको घटना मिलापत्र गराउन पीडितहरुलाई दवाब दिने गरेको आरोपमा सिम्रौनगढ नगरपालिका- ३ का वडाध्यक्ष ऐतुउल्लाह अन्सारी र बारागढी गाउँपालिका ६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पडितलाई बिहीबार दिनभरी नियन्त्रणमा राखेर हाजिर जमानीमा छोडेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ काे एक टोलमा जेठ २४ गते २० वर्षीय एक युवकले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको स्थानीयको आरोप छ । धार्मिक कार्यक्रम भएका दिन परिवारका सदस्यहरु छिमेकीको घरमा खाना खान गएका समय घरमा एक्लै रहेकी ती बालिकमाथि जबरजस्ती भएको उनीहरुको भनाइ छ । पिडक भनिएका ती युवकबाट रकम लिएर वडाध्यक्षले गाउँमै मिलापत्र गराउन पीडितको परिवारलाई दिनहुँ दबाब दिने गरेको स्थानीयको भनाइ छ ।

पीडित नाबालिकका परिवारलाई वडाध्यक्षमार्फत् दबाब दिलाएर मिलापत्र गर्न लगाउने र त्यसको साट्टो जबरजस्ती करणी गर्ने आराेपित युवकको परिवारबाट दुई लाख ५० हजार जरिवाना गराउने सहमतिकाे प्रयास वडाध्यक्षलगायतबाट भएको पाइएको छ । युवकको परिवारबाट प्राप्त हुने रकम दुई लाख ५० हजार रुपैयाँमध्ये पीडित बालिकाको परिवारलाई ८० हजार रुपैयाँ दिने र बाँकी आपसमा बाँडेर खाने प्रयाससमेत भइरहेको पाइएको छ । जनप्रतिनिधिबाटै भएको यसप्रकारको कुकर्मप्रति पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।

त्यही उजुरीका आधारमा प्रहरीले बिहीबार वडाध्यक्ष मियाँलाई दिनभर नियन्त्रणमा लिएर सोधपुछ गरेको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।

उजुरीका आधारमा थप अनुसन्धान गर्दा जबरजस्ती करणी गर्ने युवकसहित सम्पूर्ण परिवार भने फरार भएको तामाङले जानकारी दिए । वडाध्यक्षलाई भने बलात्कारमा संलग्न युवकसहित सम्पूर्ण दोषीलाई उपस्थित गराउने गरी हाजिर जमानीमा छोडिएको उनले बताए।

त्यसैगरी बाराकै बारागढी गाउँपालिकाकाे वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पडितले पनि शाररिक अशक्तता भएकी एक महिलालाई जबरजस्ती करणी गर्नेलाई बचाउन पीडित परिवारलाई दबाब दिएको आरोप लागेको छ । महिलाको परिवारले घटना बारे प्रहरीमा उजुरी दिएपछि कार्यवाहक वडाध्यक्ष पडितलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । बिहीबारै दिनभर नियन्त्रणमा लिएका उनलाई पनि प्रहरीले हाजिरी जमानीमा छोडेको प्रहरी उपरीक्षक तामाङले बताए।

जबरजस्ती करणीको घटना मिलापत्र गराउन पीडितलाई दवाव दिने दुबै वडाध्यक्षहरु सार्वजनिक पदमा रहेकाले फरार हुने सम्भावना कमदेखी आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा छोडिएको तामाङले बताए । उनले अनुसन्धानबाट दोषी पाइए जनप्रतिनिधिमात्र नभइ जोकोहीलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाए ।उपेन्द्र यादव/नागरिक

Related posts

परवानीपुरमा तत्वा समाज युवा क्लबको कार्यक्रममा ५२ जनाले गरे रक्तदान

MadhesKhabar

शिखर इन्स्योरेन्सको वाषिर्कोत्सवको अवसरमा १ सय ५३ जनाद्वारा रगतदान

MadhesKhabar

वीरगन्ज सामाजिक संस्था महासंघ गठन, अध्यक्षमा किशन र सचिवमा बिक्की चयन

MadhesKhabar

Leave a Comment