Madhes Khabar
कृषि

पानीसिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी

बाँके,११मंसिरःबाँकेकको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक पानीसिँगडा खेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै मनग्य आम्दानी गर्न सफल भएका छन् ।

गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक सिजनमै चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौंदेखि सिँगडाखेती गर्दै आएका छन् ।

‘अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु ६ हजारका दरले बिक्री भइरहेको छ’, उनले भने, ‘व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।’

एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँगडा टिपाउने गरेका किसान कश्यपले बताए ।
कश्यपको आठ जनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आएका छन् । बिहानदेखि साँझसम्म सिँगडा टिप्ने, जम्मा गर्ने र बिक्री गर्न भ्याइनभ्याई हुने गरेको छ । ‘यो हाम्रो पुख्यौली व्यवसाय हो, बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दै आएको छ’, उनले भने, ‘१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको छु ।’

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले यामका बेलामा यसको माग बढी हुने गरेको छ । यामका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक–मङ्सिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताए ।

‘सिँगडाको बीउ असारतिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिरमा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मेहनत र लगानी गर्नु पर्दैन’, उनले भने, ‘रोपेपछि दुई–तीन पटकसम्म आवश्यकतानुसार किराबाट जोगाउन विषादी तथा भिटामिन हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।’

चाडबाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको उनले बताए । अन्य समयमा भन्दा चाडबाडका बेलामा बढी माग हुन्छ, चाडबाडको समयमा स्थानीय गाउँमा स्थानीय मेला लाग्ने गर्दछन्, मेलामा धेरैजसो बिक्री हुने गर्दछ, चाडबाडमा व्रत बस्नेहरूले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खानुका साथै तरकारी पनि बनाउने गर्दछन् । यस वर्षको कात्तिक पूर्णिमा मेलामा सिँगडाको धेरै खपत भएको उनको भनाइ छ ।रासस

Related posts

लालबन्दीबाट मात्रै एक महिनामै १९ करोडको तरकारी निकासी

MadhesKhabar

जेनजी आन्दोलनले रक्सौल र ड्राइपाेर्टमा रोकिएको डिएपी मल वीरगन्ज भित्रिन थाल्यो

MadhesKhabar

खेतमा सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन विधुत प्राधिकरणको आग्रह

MadhesKhabar

Leave a Comment