वीरगन्ज,८मंसिरःवीरगन्जमा आयोजित पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेटको उपाधि अग्नि ग्रुपले जितेको छ । आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा सिद्धार्थ बैंकलाई १८ रनले हराउँदै अग्नि ग्रुपले उपाधि उचालेको हो ।
७२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको सिद्धार्थ बैंक ५३ रनमै सिमित भएपछि उपाधि अग्नि ग्रुपको पोल्टामा गयो । यसअघि पहिले ब्याटिङ गरेको अग्नि ग्रुपले ७१ रन बनाएको थियो । फाइनल खेलको म्यान अफ दी म्याच अग्नि ग्रुपका मुकुन्द रौनियार घोषित भए ।
प्रतियोगिताको समापन समारोहमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले उपाधि विजेता टिमका खेलाडीलाई ट्रफी र मेडल प्रदान गरे ।
वीरगन्ज स्पोट्र्स एकेडेमीका अध्यक्ष सन्दिप गुप्ताको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मा,वीरगन्ज उद्योग वाणिज्य संघका मनोज उपाध्याय,लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारी , उपाध्यक्ष नरोतम पाण्डे,वीरगन्ज स्पोट्र्स एकेडमीका संरक्षक बैकुण्ठ श्रीवास्तव लगायतकोपनि उपस्थिती थियो ।
लायन्स क्लब अफ वीरगन्ज परिवार र वीरगन्ज स्पोट्र्स एकेडेमीले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा वीरगन्जका वाणिज्य बैंक, बीमा कम्पनी, विकास बैंक र औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी भएका थिए ।

