काठमार्डौ,३०भदौंः भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने र जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने घोषणा गरेका हुन् ।
‘जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । जेलबाट रिहा भएपछि म अग्निपरीक्षा दिन चाहन्छु,’ उनले भनेका छन् । केजरीवालले दिल्लीको विधानसभा चुनाव नोभेम्बरमै गर्नसमेत माग गरेका छन् । दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।
कथित दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका केजरीवाल गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि जेलबाट रिहा भएका थिए । केन्द्रीय जाँच ब्युरो (सीबीआई) द्वारा गरिएको गिरफ्तारीविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासको आदेशपछि उनी रिहा भएका थिए ।