जनकपुरधाम,१८ भदौं:मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेसका सरकारी विद्यालयमा विद्यार्थी र शिक्षक अनुपातकाे व्यवस्थापनमा विभेद भएकाले पनि सामुदायिक शिक्षा कमजोर भएको बताएका छन् । उनले ७० भन्दा बढी विद्यार्थीका लागि एक शिक्षक र आवश्यक विषयगत शिक्षक अभावले सामुदायिक विद्यालयको शिक्षणमा प्रतिकूल प्रभाव परिरहेको बताए ।
मंगलबार उपमहानगरपालिका-८ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा नवनिर्मित छात्रवास “याज्ञवल्क्य सदन” को उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्लस टु सम्मको व्यवस्थापन अधिकार स्थानीय तहलाई दिइए पनि पालिकाहरू विद्यार्थी–शिक्षक अनुपात मिलाउन चुकेको बताए ।
उनले पालिकाले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताएको छ । विद्यार्थी–शिक्षक अनुपात व्यवस्थापनमा कतिपय ठाउँ र अवस्थामा व्यक्तिगत स्वार्थपोषण गरिरहेको उनले सुनाए ।
मुख्यमन्त्री सिंहले विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्ने छात्रछात्रा नभए पनि कागजमा विद्यार्थीको संख्या देखाएर ६?७ जना शिक्षक व्यवस्थापन गरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै विद्यार्थी अनुपातमा शिक्षक व्यवस्था हुनुपर्ने बताए ।
उनले प्लस टुसम्मको पढाइमा प्रदेश सरकारको भूमिका संकुचित तुल्याई संघ र स्थानीय तहमा अधिकार दिइँदा त्यस्तो अवस्था आएको उल्लेख गरे । उनले भने, ‘ प्रदेश सरकार विद्यालयको पूर्वाधार विकासमा मात्र योगदान गर्न सकिरहेको छ । शिक्षकको संख्या बढाउन नसक्नेहरूले प्रदेशलाई अधिकार दिनुपर्छ ।’ उनले प्लसटुसम्मको शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारमा ल्याउन कानुनी बाटो खोजिने पनि बताए ।

