काठमाडौं,२५असार:बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख(क्याम्प चिफ) हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको २५ दिन बित्दा पनि प्रहरीले मुख्य अभियुक्त पक्राउ गर्न सकेको छैन । गत जेठ ३२ गते साँझ क्याम्पसबाट फर्कंदै गर्दा हरिभूषणमाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई जना उनीमाथि गोली प्रहार गरेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराले घटना भएको १२ दिनमा हत्यामा संलग्न भएको भन्दै सात जनालाई सार्वजनिक गरेको थियो । पीडितले किटानी जाहेरी दिएकै आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूविरुद्ध कर्तव्य ज्यान र हातहतियार खर खजाना कसुरमा जिल्ला अदालत बारामा मुद्दा दर्ता गरिएको छ । मुद्दा चलाइएकाहरूमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने अवधलालप्रसाद कुशवाहाा, सोही स्थानका चाँदसीप्रसाद कुशवाहाा, राधेशकुमार पटेल र विनोद राउत कुर्मी रहेका छन् ।
त्यस्तै कलैया उपमहानगरपालिका– १० मटिअर्वा टोल बस्ने आम्रपाली भन्ने ब्रहमदेव राम, करैयामाई गाउँपालिका–७ पिपरा टोल बस्ने मोतिलाल चौधरी छन् । उनीहरूका साथबाट तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, विभिन्न मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सीम कार्डसमेत बरामद भएका थिए ।
यी सात जनालाई समातेको एक हप्तापछि हरिभूषणको हत्यामा प्रयोग भएको दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउगरी सार्वजनिक गरेको थियो । उनी हुन्, बारागढी गाउँपालिका– ५ पथरा टोलमा बस्ने हरिन्दर महरा चमार । चमारबाट प्रहरीले एक थान कटुवा पेस्तोल, मेड इन यूएसए लेखिएको चेम्बरमा गोली लोड भएको अटोमेटिक पेस्तोल एक थान र सोमा लाग्ने एक थान म्यागजिन बरामद गरेको छ ।
मृतक हरिभूषणको घर कलैया र आदर्श कोतवाल गाउँपालिका–२ खजुरिया दुवै ठाउँमा छ । हरिभूषण गाउँका जमिन्दारसमेत हुन् । उनी जग्गा जमिनको काम गरेकै कारण विवादमा समेत तानिएका थिए ।
हत्या आरोपमा केही पक्राउ परे पनि मुख्य अभियुक्त पक्राउ परेका छैनन् । मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने आवाज संसद्मा पनि उठिरहेको छ ।
नेकपा एमाले बाराका सांसद अच्युतप्रसाद मैनालीले राजनीतिक आवरणमा हुने हत्याका शृंखला फेरि बढ्दै गएको भन्दै सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित हुनुपरेको बताएका थिए । उनले अपराधीलाई कानूनी दायरमा ल्याउन संसद्मा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रहरीका अनुसार हत्याका मुख्य योजनाकार सुरेन्द्र कुशवाहा हुन् । उच्च स्रोतका अनुसार बारा प्रहरी प्रमुख महेन्द्र खड्का सुरेन्द्रको गिरफ्तारीका लागि आफैं भारतको पटना पुगेका थिए । तर, नेपाल–भारत सीमानजिकै पुग्दा सुरेन्द्रले भारतीय प्रहरीलाई प्रभावमा पारेर उम्कन सफल भएको स्रोत बताउँछ । सुरेन्द्रले आफूलाई गोली हान्यो भनेर हरिभूषणले एसपी खड्कालाई फोनमा गरेको कुराकानीको भिडियोसमेत प्रहरीसँग छ ।
गाउँमा गाइभैंसी फार्म खोल्ने भनेर तयारी गरेका थिए । उनले टहरो बनाएर केही भैंसीसमेत पालेका थिए । तर, हरिभूषणको हत्या योजना बनाएपछि उनले भैंसी बेचेर आफ्नो परिवारलाई समेत अन्तै सिफ्ट गर्न भ्याइसकेका थिए ।
आदर्शकोतवालमा त्रास हटेको छैन
हरिभूषणको हत्यापछि आदर्शकोतवाल गाउँपालिकास्थित खजुरीयामा त्रास कायमै छ । राजनीतिक रूपमा दुई कित्तामा बाँडिएका छन् । एमाले निकट सर्वसाधरणका केही घरहरू तोडफोड भएका छन् । केहीमाथि कुटपिट भएको छ ।
त्यहाँका एक स्थानीयले भने, ‘अहिले गाउँमा केही घरका परिवारै सम्पर्कविहीन छन् । यसबारे स्थानीय प्रशासनदेखि संघीय सांसदहरूलाई समेत जानकारी छ ।’ त्यसो त घटना भएको ६ दिनपछि बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख घटनास्थलमा निरीक्षणको लागि पुगेको थियो । अहिले गाउँपालिका नजिकै अस्थायी रूपमा प्रहरी चौकी खडा गरिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा गाउँमा दुई सिफ्टमा गस्ती गर्दै आएका छन् ।
बारा प्रहरीका प्रवक्ता एवं डीएसपी दधिराम न्यौपानेले मुख्य अभियुक्त सुरेन्द्रको खोजी भइरहेको बताए । उनले भने, ‘घटनामा प्रयोग भएको हतियारसहित हरिभूषणको हत्या योजना बनाउने समूहलाई पक्राउ गर्यौं । मुख्य अभियुक्तलाई पक्राउ गरेपछि थप रहस्य खुल्दै जाला ।’
-याे समाचार लाेकतान्तर अनलाइन पत्रिकामा पत्रकार सुवास गाेतामेले लेखेका छन् ।