वीरगन्ज,२३असारःवीरगन्जमा आइतबार गहवामाईको दोश्रो रथ यात्रा भब्य रुपमा सम्पन्न भएको छ । गहवमाईको नवनिर्मित मन्दिरको १२ औं बर्ष पूरा भएको शुभ उपलक्ष्यमा आइतबार निकालिएको रथ यात्रामा हजारौं भक्तजनहरुको सहभागीता थियो ।
मन्दिर परिसरबाट काठको रथमा २६ केजी चाँददीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर निस्किएको रथ यात्रा घण्टघार चोक, रेल्वे रोड, अमर चोक ,इदगाह चोक, छपकैया , वीर्ता, आदर्शनगर हुदै पुन मन्दिर पसिरमा पुगेर समापन भएको थियो ।
विभिन्न झाँकी , पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट गरी ३ जिल्लाका हजारौं भत्तक्तजनहरुको सहभागीता रहेको रथयात्रा आयोेजक समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनका अनुसार, गहवामाई मन्दिर प्राङगणमा आइतबार नै साँझ ६ बजेदेखि भजनकिर्तनसहितको धार्मिक कार्यक्रम आयोजना गरिने छ । यस्तै सोमबार मन्दिर प्राङगणमै भण्डारा (प्रसाद वितरण) आयोजना गरिने उनले जानकारी दिए ।
आइतबारको रथ यात्रामा सहभागीताका लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरुमा सार्वजनिक विदा दिएको थियो । यस्तै वीरगन्ज महानगर क्षेत्रमा आइतबार र सोमबार गरी दुई दिनका लागि माछा,मासु र मदिराको बिक्रीवितरण र सेवनमा महानगरपालिकाले रोक लगाएको छ ।
रथ यात्रामा सहभागी वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले वीरगन्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगन्ज महानगरपालिकाले थालेको अभियानलाई गहवामाई रथ यात्राको आायोजनाले टेवा पुरयाएको बताए । उनले गत बर्षदेखि नै वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितिले रथ यात्रा निकाल्न सुरु गरेको र यसले हरेक बर्ष निरन्तरता पाउनेपनि बताए ।