Madhes Khabar
स्थानिय हेडलाइन

अन्तिम अल्टिमेट पनि टेरेनन् उद्योगीले : नदीको प्रदुषण रोक्न अब के गर्छ त वीरगन्ज महानगरले ?

वीरगन्ज,२५बैशाखः सिर्सिया नदि प्रदुषित गर्दै आएका उद्योगहरुले वीरगन्ज महानगरपालिकाले अन्तिम पटकका लागि दिएको चेतावनीकोपनि अटेर गरेको पाइएको छ ।

नदी प्रदुषित गरिरहेका मध्ये पर्सा–बारा औद्योगिक कोरिडोरका ९ वटा उद्योगहरुले यहि बैशाख ९ गते वीरगन्ज महानगरपालिकामा पुगेर नदीको प्रदुषण रोक्नका लागि १५ दिनको समय माग्दै लिखित प्रतिबद्धता नै जनाएका थिए ।त्यसदिन महानगरका मेयर राजेशमान सिंहले अन्तिम पटकका लागि १५ दिनको समय दिएको भन्दै १६ औंदिनदेखि कडा कदम चाल्ने चेतावनी दिएका थिए ।

तर १५ औं दिन बितेको भोलि पल्ट मंगलबार वीरगन्ज महानगरपालिकाको टोली ती उद्योगहरुमा स्थलगत निरक्षिण र अनुगमनमा पुग्दा नदीको प्रदुषण रोक्नका लागि अधिकांश उद्योगीहरुले खासै कुनै ठोस पहल नगरेको पाइएको अनुगमन टोलीमा सहभागी मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयालले बताए ।

केहि उद्योगले महानगरको अन्तिम अल्टिमेटसहितको चेतावनीपछि उद्योगको प्रदुषित पानी नदिमा सोझै नमिसाएको भेटिएपनि उनिहरुले झारा टार्ने जस्तो गरी काम गरेको पाइएको बताए । उनले भने,‘ अरनीको टेक्सटाइलले तीन वटा पोखरी बनाएको छ । पोखरी भरिएपछि पुन ः नदीमै प्रदूषित पानी मिसाइएको पाइएको हुँदा पुन सचेत गराएर आएका छौं ।

अनुगमन टोलीमा सहभागी महानगरको वन वातावरण तथा विपद व्यवस्थापन महाशाखाअन्र्तगतको वातावरण शाखा प्रमुख प्रकाश ऐरले भने,‘नदी सबैभन्दा बढी प्रदुषित गर्ने उद्योग अरनिको टेक्सटाइल हो । तर उसैले अझै सम्म केहि सुरसार गरेको पाइएन ।जबकि एक बर्षपहिले नदी प्रदुषित गर्ने अरनिकोसहित पाँच उद्योगलाई महानगरपालिकाले जनही तीन तीन लाख रुपैयाँको दरले जरीवाना गरेको थियो । अरु चार उद्योले उक्त जरीवाना रकम बुझाइसकेको भएप्नि अरनिकोले हालसम्म उक्त जरीवानापनि नतिरेको ऐरले बताए ।

यस्तै सिद्धि टेक्सटाइलले पनि उद्योगको फोहोर पानी भण्डारणका लागि पोखरी खनेको भएपनि वाटर ट्रिटमेन्ट प्लान्ट भने बनाएको नपाइएको मेयरका जनसम्पर्क सल्लाहकार फुयाँलले बताए ।मंगलबारको अनुगमनका क्रममा अधिकांश उद्योगीले उद्योगमा वाटर ट्रिटमेन्ट प्लन्ट जडानका लागि प्राविधिक टोली बोलाउने र अध्ययन गर्ने काम गरीरहेको भन्दै झारा टार्ने जवाफ दिएको उनले बताए ।

वीरगन्ज मानगरपालिकाले नदी प्रदूषित गर्ने उद्योगलाई अब कुनै पनि हालतमा छुट नदिनेपनि उनले बताए । महानगरका मेयर सिंहको निर्देशनमा नदीलाई प्रदुषणमुक्त बनाउनका लागि महानगरपालिकाले गम्भिरतापूर्वक काम गरीरहेको अनुगमन टोलीमा सहभागी मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।

तर केहि उद्योगले पछिल्लो समय महानगरको निर्देशनलाई मान्दै नमुना कामपनि गरिरहेको पाइएको अनुगमन टोललीमा सहभागी महानगरपालिकाको वातावरण शाखा प्रमुख ऐरले बताए । उनले भने, ‘मारुती पेपरले अहिले नमुना काम गरीरहेको छ । यो उद्योगले आफ्नै पानी प्रशोधन केन्द्र (वाटर ट्रिटमेन्ँट प्लान्ट) बनाएको छ । यसले अहिले नदीमा प्रदुषित पानी मिसाएको छैन भन्दा पनि हुन्छ ।’ यस्तै दुर्गा पेपर एण्ड पल्प उद्योगले पनि प्रशोधन केन्द्र बनाएकोभएपनि उद्योगका अन्य फोहोर भने नदीमै मिसाइरहेको पाइएको उनले बताए । ती फोहोर पदार्थलाईपनि नदीमा नफालेर उद्योगभित्रै व्यवस्थापन गर्न निर्देशन दिइएको ऐरले जानकारी दिए।

मंगलबार महानगरको टोलीले अनुगमन गरेको नारायणी लेदर उद्योगका सञ्चालकले पानी प्रशोधन केन्द्र जडान गरेको भएपनि प्राविधिक टोली नहुँदा सञ्चालन गर्न नसकिएको जवाफ दिएको ऐरले जानकारी दिए ।यस्तै त्रिवेणी टेक्सटायल, मरियम लेदर लगायतका उद्योगले पनि प्राविधिक बोलाउने र प्रशोेधन केन्द्र सञ्चालन गर्ने काम भइरहेको भन्दै यसका लागि कम्तीमा २÷३ महिनाको अझै समय माग गरेको ऐरले बताए ।

ऐरले वाटर ट्रिटमेन्ट पलन्ट जडान र सञ्चालनका लागि ३ महिनाको समय दिन महानगर तयार भएपनि उक्त अवधिभर उद्योगको प्रदुषित पानी नदीमा नमिसाएर उद्योग परिसरभित्रै व्यवस्थापन गर्नुपर्ने ऐरले बताए । उनले भने, ‘हामीले पटकपटक समय दिएका छौँ, ताकेता गरीरहेका छौँ । तर पनि अटेर गरेको पाइएको छ । यद्यपी केही उद्योगले काम गरीरहेका पनि छन् । त्यसैले अब महानगर कडा रुपमा प्रस्तुत हुन्छ ।’

नदी प्रदुषित गर्ने उद्योगहरुमा सिल नै गर्ने वीरगन्ज महानगरपालिकाले तयारी गरेपछि उद्योगीहरुले बैशाख ९ गते मेयर सिंहलाई भेटेर १५ दिनको समय माग्दै नदीमा प्रदुषण नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।

वीरगन्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक बढी समयदेखि उद्योगहरुले प्रदुषित गर्दै आइरहेका छन् ।नदीलाई प्रदुषणमुक्त बनाउन महानगरले यसअघि पटक पटक अनुगमन गर्नुका साथै एक बर्षपहिले पाँच वटा उद्योगलाई ३÷३ लाखको दरले जरीवानासमेत गरेको थियो ।त्यसका बाबजुदपनि उद्योगीहरुले अटेरी गरिरहेका छन् ।

बाराको रामवनबाट सुरु भई पर्साको वीरगन्ज महानगर हुदैं सीमावर्ती भारतको रक्सौल सम्म बगेकाो सिर्सिया नदी विगत तीन दशकदेखि प्रदुषण र अतिक्रमणको चपेटामा पर्दै आएको छ । वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन, कागज लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू सिधै नदीमा मिसाइँदा नदी प्रदुषित र दुर्गन्धित बनेको हो ।

 

Related posts

पर्यावरण जाेगाउन सिर्सिया नदी किनारमा वृक्षारोपण सुरु

MadhesKhabar

आर्थिक मन्दीले वीरगन्ज भन्सारकाे राजश्व संकलनमा भारी गिरावट

MadhesKhabar

५१ हजार राशीकाे गाेपाल गिरी पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार श्रेष्ठलाई प्रदान

MadhesKhabar

Leave a Comment