
माधुरी महतो
वीरगन्ज,२१बैशाखःपर्सामा पछिल्लोसमय गर्भपतन गराउनेहरुको संख्यामा बृद्धि हुदैं जाँदा त्यसमा २० वर्ष भन्दा कम उमेरका खासगरी स्कुले बालिकाहरुको संख्यापनि बढी देखिएको छ ।
यो बैशाख महिनामा मात्रै नारायणी अस्पतालमा २० बर्षभन्दा कम उमेरका पाँच बालिकाले गर्भपतन गराएको अस्पतालकी नर्सिङ्ग ईन्चार्ज अहेमा थापाले जानकारी दिइन् ।यसअघिका महिनाहरुमा पनि यसै अनुपातमा गर्भपतन गराउनका लागि बालिकाहरु अस्पतालमा आएको उनले बताइन् ।
थापा भन्छिन्,‘ यो बैशाख महहिनाको १५ दिनमात्रै ५ जना बालिकाहरु गर्भपतनका लागि आउनु भनेको राम्रो संकेत होईन । यो संख्या धेरै नै भयो । बालिकाहरु १२ हप्तासम्मको गर्भ मात्रै लिएर आउँदैनन् त्यो भन्दा धेरै समय वितिसक्दा पनि आउने गरेका छन् । जसकारण उनीहरुको गर्भपतनमा विभिन्न जटिलता समेत हुने गर्छ ।’
थापाले थपिन्,’यस्तो अवस्थाको जिम्मेवार ती बालिकाहरु मात्र होईनन् बालकहरु प्नि उत्तिकै हुन्छन् । र ती दुवै भन्दा बढी दोषि र लापरवाह घरमा अभिभावक र विधालयमा शिक्षक शिक्षिका हुन्छन् ।केही हदसम्म सरकारपनि दोष्ी छ।
विधालय शिक्षाको पाठ्यक्रममा महिनावारी, प्रजनन स्वास्थ्य, असुरक्षित यौनसम्पर्कको जोखिम लगायत सम्बन्धि सचेतनाका विषयवस्तु समावेश नगरिएका कारणपनि यस्तो समस्या देखिइरहेको भन्दै थापाले भनिन्,‘विद्यालयमा बालबालिकासंग यी विषयमा शिक्षक–शिक्षिकाले र घरमा अभिभावकहरुले खुलेर कुरा गर्दैनन् ।अनि यसबारे बालबालिकालाई के थाहा हुन्छ र ? अनि थाहा नहुँदा यस्ता घटना बढिरहेका छन् ।’
थापाले महिलालाई महिनावारी हुन्छ भनेर बालिकालाई मात्र होईन बालकलाईपनि बुझाउन जरुरी रहेको तथा यसबारे जानकारी दिएर प्रजनन् स्वास्थ्य र गर्भधारण तथा गर्भपतनबारे सचेत बनाउनुपर्नेमा जोड दिईन् ।
नेपालमा गर्भपतन गैरकानुनी भएको बेला लुकीछिपी असुरक्षित गर्भपतन हुने गथ्र्यो । यसले गर्दा मातृमृत्यु बढेको र महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक असर परेको थियो । तर, अब भने गर्भपतनले कानुनी मान्यता पाइसकेको अवस्था छ । गर्भपतन सम्बन्धि कानुनले कति बच्चा जन्माउने र अनिच्छित गर्भ फाल्न निर्णय लिने अधिकार महिलालाई दिएको छ ।
अनिच्छित गर्भलाई सुरक्षित रूपमा अस्पतालमा गएर गर्भपतन गराई फाल्न सकिन्छ । अस्पताल बाहिर वा अन्यत्र गएर गराइएको गर्भपतन असुरक्षित तथा खर्चिलोपनि हुन्छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकबाट गराइने गर्भपतन ९८ प्रतिशत सुरक्षित हुन्छ ।
तर वीरगन्जको एक अस्पतालमा गाउँसमाजमा राम्रै प्रतिष्ठा भएको परिवारकै कक्षा ७ मा पढ्ने एक बालिका गर्भवती भएको घटनाले परिवार र अस्पताललाई नै चकित तुल्याएको नाम नबताउने शर्तमा एक चिकित्सकले सुनाए। उनले भने,‘ ती बालिकाको उमेर २० वर्ष भन्दा निक्कै कम थियो ।विद्यालयबाट पढेर घर आउँदा सधै पेट दुख्ने , चक्कर लाग्ने , खान मन नलाग्ने र कहिलेकाँही वाकवाक लाग्ने गर्दा घरका आमा बुवाले भने ग्यास्ट्रिकले भएको हुन सक्ने भन्दै गाउँकै औषधि पसलबाट औषधि किनेर ख्वाउँथे ।विस्तारै उक्त बालिकाको शारीरीक बनावट फरक हुन थालेपछि र पेट दुख्ने क्रम जारी रहेपछि वीरगन्जको अस्पतालमा चेकजाँचका लागि अभिभावकले ल्याए । चेकजाँच गर्दा १२ हप्ता भन्दा धेरै समयको गर्भ रहेको थाहा पाएपछि अभिभावकहरु झसङ्ग भए । चिकित्सकको सल्लाह अनुसार गर्भपतन गराईयो तर ती बालिकालाई भने स्वास्थ्यका हिसाबले सजिलो चाही भएन ।’
यो त एउटा प्रतिनिधीपात्र उदाहरण मात्रै हो ।यस्ता सानै उमेरका बालिकाहरु गर्भपतनका लागि वीरगन्जका अस्पतालहरुमा दिनहु आउने गरेको चिकित्सकहरु बताउँछन् । ककिहलेकाँही अभिभावक भने कहिले काही स्वंय किशोरहरुको साथमा ती बालिकाहरु आउने गरेको चिकित्सकहरुको भनाई छ ।त्यती मात्र नभई सम्भोगपछि गर्भ तुहाउन तथा गर्भपतनका लागि आफु खुशी औषधि खाएर धेरै रतmश्राव भएको र एकदमै जटिल अवस्थामा समेत बालिका तथा महिलाहरुलाई अस्पताल ल्याउने गीिएको चिकित्सकहरु बताउँछन् ।
नरायणी अस्पतालका डाक्टर उदयनारायण सिँह गर्भ धारण रोक्न सक्ने सुरक्षित अस्थायी,स्थायी साधन तथा प्रजनन् स्वास्थ्यका फाईदा र असुरक्षित गर्भपतनका बेफाईदाबारे महिला र बालिकासंगै पुरुष र बालकलाई पनि सचेत नपारेसम्म सानै उमेरमा गर्भपतन गराउने क्रम नरोकिने बताउँछन् ।
गर्भधारण चक्र र गर्भपतन चक्रबारे सचेत बनाउनुका साथै अनिच्छित गर्भधारण र गर्भपतनका ऐन नियममा बालबालिकाकालागि लागू गरीएका दण्ड सजायबारे पनि उत्तिकै सचेत बनाउन आवश्यक रहेकोमा उनि जोड दिन्छन् ।
गर्भवतीले चाहेमा १२ हप्तासम्मको गर्भलाई फाल्न सक्छन् । बलात्कार वा हाडनाता करणीले रहेको गर्भभए १८ हप्तासम्म फ्याक्न कानुनतः सकिन्छ ।आधिकारिक चिकित्सकको सिफारिसमा महिलाको ज्यान र स्वास्थ्य खतरामा पर्ने भएमा वा विकलाङ्ग शिशुको जन्म हुने सम्भावना भएमा जुनसुकै अवधिको गर्भलाई पतन गराउन सकिन्छ ।
महिलाहरू थुप्रै कारणले गर्दा गर्भपतन गराउन बाध्य हुन्छन् । गर्भपतन कहिलेपनि रहर नभएर बाध्यता हो । बच्चाको रहर पुगिसकेको तर परिवार नियोजनका साधनबारे राम्रो जानकारी र उपलब्धता नहुँदा, साधनको प्रयोग नगर्दा, साधनको प्रयोगमा त्रुटि हुँदा र साधन असफल हुँदा अनिच्छित गर्भधारण हुन्छ ।यस्ता दम्पति पारिवारिक बोझ थपिने हुनाले गर्भपतन गराउन बाध्य हुन्छन् ।
त्यसैगरी विभिन्न सामाजिक कारण जस्तै अविवाहित, एकल महिला र गैरवैवाहिक सम्बन्धबाट गर्भधारण भएमा गर्भपतन अपनाउने गरिन्छ । यी बाहेक बलात्कार वा हाडनाता करणीको कारणले गर्भवती भएमा र आमा तथा भ्रूणको स्वास्थ्य खतरामा पर्ने भएपनि गर्भपतन गराइन्छ ।
तर गर्भपतनका विभिन्न समस्याबारे पनि उतिक्कै बुझिराख्नुपर्नेमा डाक्टर लक्ष्मि थापाले जोड दिन्छिन्। असुरक्षित गर्भपतन गर्दा महिलाको ज्यानै पनि जान सक्ने हुनाले असुरक्षित गर्भपतन गराउन नहुने उनको सुझाव छ ।
विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार विकासोन्मुख देशहरूमा प्रत्येक वर्ष ७० लाख महिला असुरक्षित गर्भपतनका जटिलताहरूका कारण अस्पतालमा भर्ना हुनु परेको छ । विकासोन्मुख देशहरूमा प्रति एक लाख असुरक्षित गर्भपतनमा २ सय २० जनाको मृत्यु हुने गरेको छ भने विकसित देशहरूमा यो संख्या ३० मात्र रहेको संघको प्रतिवेदनमा उल्लेख छ।
गर्भपतन रोज्नुपर्ने कारण सबैको एउटै हुन्छन् भन्ने छैन। अधिकांशले अनैतिक यौन सम्पर्कले रहेको गर्भ ,गर्भपतन गराउँछन् भन्ने धारणा राख्ने गरेको पाइन्छ। तर वास्तविकता अर्कै हुन्छ। धेरैजसो महिलाको शैक्षिक वा नोकरीमा बाधा परेर, सन्तान पुगिसकेकाले, सन्तान ठूला भइसकेकाले, परिवार नियोजनका साधन प्रयोग गर्दागर्दै गर्भ रहेकाले तथा आर्थिक समस्यालेपनि महिलाले गर्भपतन रोज्छन् ।
सुरक्षित गर्भपतन सेवाका लागि सेवा दिने स्वास्थ्य संस्था वा अस्पताल र सेवा दिने स्वास्थ्यकर्मी वा चिकित्सक ‘सूचीकृत’ हुनुपर्ने कानुनी प्रावधान छ। पर्सामा सुरक्षित गर्भपतन सेवा पर्याप्त छैन भनेर भन्न मिल्दैन ।नेपालमा ७७ वटै जिल्लामा १ हजार भन्दा बढी सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा ३ हजारभन्दा बढी स्वास्थ्यकर्मी तथा चिकित्सकले सुरक्षित गर्भपतन सेवा दिइरहेका छन्।
सरकारी स्वास्थ्य केन्द्रमा मात्र होइन, निजी क्लिनिक तथा स्वास्थ्य संस्थालाई पनि आवश्यक पूर्वाधार र जनशक्ति भएको अवस्थामा स्वीकृत दिने प्रावधान छ। २०७३ सालदेखि नै नेपाल सरकारी स्वास्थ्य संस्थाहरूमा गर्भपतन सेवा निःशुल्क गरिएको छ। निजी अस्पतालहरूमा पनि यो सेवाको शुल्क न्युनतम लिने प्रावधान छ । यो सुविधा हँुदाहुँदै पनि सुरक्षित गर्भपतन रोज्नेहरूको संख्या ४५ प्रतिशत भन्दा रहेको भने अर्कोतर्फ तर प्राय सुचिकृत भएर पनि जनशतिm अभावका कारण खासगरी ग्रामीण भेगमा उक्त सेवा प्रभावकारी हुन सकेको छैन ।
तर पनि गर्भपतनलाई सुरक्षित बनाउन कानुनी मान्यता दिने, सेवा व्यवस्थित र भरपर्दो बनाउन तालिम र सेवा विस्तार सरकारले गर्दै आएको छ । असुरक्षित गर्भपतनलाई न्युनिकरण गर्ने उद्देश्यले विभिन्न अस्पतालहरुमा सरकारले सुरक्षित गर्भपतनको सेवा समेत दिदै आएको छ । तर पनि कतिपय महिला तथा स्कुल बालिका र किशोरीहरुलाई अझै सुरक्षित गर्भपतन सेवाबारे जानकारी नै नभएको पनि पाईएको छ । अर्कोतिर भने परिवार नियोजनका साधनमा समेत प्रभावकारी रुपमा जोड दिन सकिएको छैन।

