वीरगन्ज,७चैत:पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले जिल्लामा शान्ती सुरक्षा र अमनचयन कायममा कुनै किसिमकाे सम्झौता नहुने दाबी गरेका छन् ।बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पर्साका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक ढुंगेल संविधानले व्यवस्था गरेको कार्यक्षेत्रभित्र रहेर प्रहरीले काम गर्ने बताए ।
कानुनी दायराभित्र रहेर शान्ती सुरक्षा, अमनचयन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायतको क्षेत्रमा सक्रिय पूर्वक काम गर्न प्रहरीले कुनै कन्जुस्याई नगरेको र अबपनि नगर्ने उनले बताए ।
कानुनविपरित गएर कुनै पनि प्रहरी कर्मचारीले काम गरेमा कारबाही गर्ने चेतावनी दिँदै उनले भने,`प्रहरीकाे काममा पत्रकारकाेपनि सहयाेग आवश्यक हुन्छ। पत्रकार र प्रहरीबीचको आपसी समन्वय र सहकार्यमै सभ्य र सुरक्षित समाज निर्माण गर्न सकिन्छ।´
आफु कसैप्रति पनि पूर्वाग्रही नहुने विश्वास दिलाउँदै उनले सबैलाई समान रुपमा व्यवहार गर्ने बताए । उनले भने, ‘कोही पनि निर्दाेषले कुनै पनि बहानामा फस्नुहुँदैन । साथै दोषी कुनै पनि कारणले उम्किनुहुँदैन भन्नेमा म सचेत छु । राजनीतिक पहुँच र अन्य कुनै दबाब तथा प्रभावको भरमा कोही पनि जोगिन्छु भन्ने नसोचे हुन्छ ।’
घुमुवा भन्ने शब्द नेपाल प्रहरीमा कतै नभएको स्पष्ट पार्दै उनले बर्दी बिना सूचना तथा अनुसन्धानका लागि सिभिल प्रहरी तथा इन्टिलीजेन्सले काम गरीरहेको जानकारी गराए ।
भारतसँग खुला सीमा जोडि़एका पर्साका नाकाबाट हुने चोरी, तस्करी, लागु औषध ओसार पसारलगायत विभिन्न खाले आपराधिक गतिविधिबारे सूचना लिन सिभिल प्रहरी परिचालन गरिएको उनले बताए ।आफ्नो कार्यकाललाई स्मरणीय बनाउने बताउँदै उनले पर्साबासीलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

