काठमाडाैं,६माघ: प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेसले लगातार दाेस्राे जीत हात पारेकाे छ। शुक्रबार सशस्त्र प्रहरीको एपिएफलाई ५ विकेटले हराएको मधेसले शनिबार कर्णाली प्रदेशलाई ६१ रनले हराएको हाे ।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा मधेसले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४१ ओभर एक बलमा १ सय ७० रनमा अलआउट भयो ।
कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए । मधेसका राजेश यादवले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि हरिशंकर साह र मयन यादवले समान ५०/५० रन बनाए ।
कर्णालीका दिपेन्द्र रावतले चार र अनुज चुनाराले दुई विकेट लिए । जितसँगै मधेस पाँच खेलमा ६ अंकसहित तेस्रो स्थानमा पुगेको छ । कर्णाली चार खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा झरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी छन् ।

