काठमाडौं,३०जेष्ठ : नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।
विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका वीरगन्जका क्रिकेटर आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम रहने बताएका हुन् ।
क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो ।
जसमा नेपालले युएई विरुद्धको अन्तिम खेलमा डिएलएस मेथडमा ९ रनको रोमाञ्चक जित हात पारेको थियो । जसले कीर्तिपुरमा नेपाली क्रिकेट टिम र समर्थकमाझ खुशी छाएको थियो ।
‘यो छनोटमा पुग्नु अविश्वसनीय थियो,’ शेखले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा १२ मध्ये ११ खेल जित्नु अप्रत्याशित थियो । यो सामूहिक प्रयास थियो, सबैको योगदान छ ।’
आसिफले विश्वकपको मुख्य प्रतियोगितामा पुग्दै अर्को इतिहास बनाउने हो भने कडा मिहिनेत गर्ने समय आएको बताए ।
‘मलाई लाग्छ हामी हाम्रो क्रिकेटको साथ उत्कृष्ट यात्रामा छौं र हामी क्वालिफायरका लागि साँच्चै उत्साहित छौं ।’
नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जित्दै ४० अंक जोडेर च्याम्पियन स्कटल्याण्ड र ओमान भन्दा पछि रहँदै तेस्रो भएको थियो । लिग टु बाट यही तीन टिम विश्वकप छनोटमा पुगेका थिए ।
विश्वकप छनोटमा भने नेपालले पूर्व विश्व विजेता वेष्ट इन्डिज र आयोजक जिम्बाव्वेसँगै समूह एमा छ । यस समूहमा नेदरल्याण्ड्स र अमेरिका पनि छन् ।
समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । यी १० टिमबीच भारतमा हुने एकदिवसीय विश्वकपको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
जिम्बाव्वेमा खेल्दा नेपालले कीर्तिपुरको जस्तो ठूलो समर्थकको आवाज पाउनेछैन । जसले घरेलु मैदानमा युएई विरुद्ध ठूलो समर्थन गरेका थिए ।
‘नेपालले हामीले पाएको समर्थन अविश्वसनीय थियो, अन्तिम खेलका लागि हामीसँग धेरै समर्थकहरु थिए । हामी त्यो भीडलाई मिस गर्न जाँदैछौं तर हामीलाई थाहा छ कि नेपालबाट उनीहरूले हामीलाई समर्थन गर्ने छन् । हामी जहाँ खेले पनि फरक पर्दैन, हामीलाई थाहा छ नेपाली जनता हामीसँग छन्, उनीहरू नेपालबाट हाम्रो लागि समर्थन गर्नेछन् ।’
आसिफ शेखले आयरल्याण्ड विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा एन्डी म्याकब्रिनलाई रनआउट नगर्ने निर्णय गर्दा ठूलो प्रशंसा पाएका थिए र त्यसका लागि आईसीसी स्पीरिट अफ क्रिकेट अवार्ड २०२२ प्राप्त गरेका थिए ।
नेपाली टिममा आसिफसँगै उनका दाइ अलराउण्डर आरिफ शेखसमेत छन् ।
आसिफले मुख्य प्रशिक्षक मोन्टी देशाईले खेलाडीहरुलाई उत्प्रेरित गरेको भन्दै प्रसंशा पनि गरेका छन् ।
देशाईकै प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो भने एसीसी प्रिमियर कप जित्दै एसिया कपमा पनि छनोट भएको छ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।
नेपालले १८ जुनमा घरेलु टोली जिम्बाव्वेसँग विश्वकप छनोटको पहिलो खेल खेल्दैछ ।
त्यसपछि नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल हुनेछ ।साभार:अनलाइनखबर

