
वीरगन्ज,२९असोजःभारतसंग खुल्ला सीमा जोडिएको बाराको छछतवा लगायतका नाकाबाट भारतीय धानको तस्करी हुने गरेको छ । भारत र नेपालका कारोबारीले सीमा तैनााथ नेपाली सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर ट्याक्टर र मोटरसाइलमा ओसारेर धानको तस्करी गर्दै आएका छन् । उक्त नाकाबाट दैनिक १०देखि १५ ट्याक्टर धान राजश्व छलेर नेपाल भित्रिने गरेको छ ।
तस्कर र कारोबारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा राति ११ बजेदेखि बिहान ४ बजेसम्मको समयमा धानसहितको ट्याक्टर नेपालमा छिराउने गरेको स्थानीयले जनाएका छन् ।प्रहरी श्रोतका अनुसार, तस्करले प्रति ट्रयाक्टर धान भित्रयाए बापत नाकामा नेपाल प्रहरीका इन्चार्जलाई ३ हजार पाँच सय र सशस्त्र प्रहरीका इन्चार्जलाई दुई हजार पाँचसय रुपैयाँ दिने गरेका छन् ।
यसैबिच छतवा नाकाबाट धानको तस्करी भइरहेको सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतबार राति छतवाबाट तस्करी गरी भित्रयाइएको ठूलो परिणाममा धान बरामद गरेपछि उक्त नाकाबाट धानको तस्करी भइरहेको पुष्टि नै भएको हो । आइतबार राति प्रहरीले ५५ बोरा धान बरामद गरेको हो ।
भारतको घोडासाहनबाट छतवाको बटम चौक नाका हुँदै मोटरसाइकलमा ओसारेर ल्याईएको धानका साथै चार वटा मोटरसाइकल समेत बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
छतवास्थित प्रहरी चौकी र सशस्त्र प्रहरी बोर्डरआउट पोष्टको मिलोमताोमा धानको तस्करी भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटेको प्रहरी टोलीले उक्त धान र मोटरसाइकल बरामद गरेको हो ।बरामद धान र मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार काार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक न्यौपानले बताए ।

