दाङ,६असाेज: शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो ।
छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै लामिछानेको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल रहेका छन् ।
घाइते कमलाकुमारीको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ भने अर्का घाइते वीरबहादुरको हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले जानकारी दिए । उनका अनुसार हमाल दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए । उनले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।
प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि खुकुरी प्रहार गरेका थिए ।त्यस क्रममा टेकबहादुरले भेटेका लामिछाने, वीरबहादुर हमाल र कमलाकुमारी हमाललाई खुकुरी प्रहार गरेको पाेखरेलले बताए । उनका अनुसार घाइते दुई जना टेकबहादुरको छिमेकी भएको खुलेको छ ।
‘हत्याको कारण कुनै रिसिबी नभएर देउता चढेको भन्दै अन्धाधुन्ध प्रहार गरेको देखिन्छ’, पाेखरेलले, ‘घटनाको अनुन्धानमै छौं । बाँकी कुरा पछि आउँला ।’
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार टेकबहादुरको मानसिक स्वास्थ्य चेकजाँच भइरहेको छ । त्यसपछि मात्र केही कुरा बताउन सकिने बताए ।
स्थानीय बासिन्दाका अनुसार टेकबहादुर केही महिनाअघि भारतबाट फर्केका थिए । उनले घरमा कुखुरा पालन गरेका थिए ।साभार:अनलाइनखबर

