Madhes Khabar
धर्म/संस्कृति

मुस्लिम बालबालिकामा संस्कृत मोह

फाइल तस्वीर

काठमाडौं, ५ असार : फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतको मोह बढकको छ। विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन्। संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् ।

ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दू धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन् । विराटनगर–७ हरियाली टोलका सलमान शेख सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन्।

उनलाई ठूलो भएपछि आचार्य बन्ने रहर छ । संस्कृत भाषाप्रति अत्यन्तै लगाव भएको शेख बताउँछन् । उनी भन्छन्, ‘संस्कृत सबै भाषाको जननी हो । मलाई संस्कृत भाषा सबैभन्दा सजिलो लाग्छ। संस्कृतले नैतिकता र शुद्ध आचरण सिकाउने गरेको छ।’

उनले घरमा आफ्ना बाबुआमालाई विद्यालयमा पढेको र सिकेको संस्कृत भाषा, व्याकरण र मन्त्रोच्चारण सुनाउने गरेको बताए। आफरोज शेखले छोरा सलमानमा सानैदेखि आध्यात्मिक प्रवृत्तिको रहेको बताए।

उनले आफू सबै धर्मको समान सम्मान गर्ने व्यक्ति भएकाले छोरा सलमानलाई संस्कृत विद्यालयमै भर्ना गराएको बताए । संस्कृतको जग छोराछोरीमा बसाल्न सकियो भने जस्तोसुकै दुःख र परिस्थितिको सामना गर्न सक्षम हुने बुबा अफरोजको ठम्याइ थियो।

कक्षा ४ मा अध्ययनरत सुहाना खातुनले संस्कृतले विद्यार्थीलाई अनुशासित बनाउने बताइन्। कक्षा ४ मै अध्ययनरत अतिसा खातुनले पनि फरक धर्म मान्ने भए पनि संस्कृत अध्ययन गर्दा आफ्नै समुदाय र समाजले पनि प्रोत्साहन नै गरेको उल्लेख गरिन्। ठूलो भएपछि नर्र्स बन्ने चाहना बोकेकी अतिसाले संस्कृत जान्ने व्यक्तिलाई कुनै पनि विषय गाह्रो नाग्ने जानकारी दिइन्।

प्राचार्य चुडामणि नेपालले विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत रहेको बताइन्। उनले विद्यालयमा ४० मुस्लिम समुदाय र ३० दलित समुदायका विद्यार्थीले पनि संस्कृत भाषा अध्ययन गरिरहेको उल्लेख गरे। प्राचार्य नेपालले मुस्लिम र दलित समुदायका बालबालिकाको पछिल्लो समय संस्कृत भाषाप्रतिको रुचिमा असाध्यै वृद्धि भएको बताए ।

दलित समुदायकी बालिका कुमकुम मरिकले सानैदेखि छिमेकी घरको हजुरआमाले संस्कृतमा रामायण र महाभारत पाठ गरेको देखेर आफूमा पनि संस्कृत पढ्ने मोह बढेको बताइन्।
उनले विद्यालयमा संस्कृत भाषा र साहित्यका साथै विभिन्न कर्मकाण्डीका मन्त्र पनि पढाइने हुँदा संस्कृत रोचक लाग्ने गरेको चर्चा गरिन् । ठूलो भएपछि डाक्टर बन्ने र देश सेवा गर्ने मरिकको लक्ष्य छ।

फरक–फरक धर्म र संस्कृति मान्ने समुदायका बालबालिकाले संस्कृत पढ्ने चाहनाले मुलुकमा धार्मिक सौहाद्र्रताको उदाहरण पेस गरेको विद्यालयका संस्कृत शिक्षक बलराम कोइरालाले बताए। रासस

Related posts

सखुवा प्रसाैनीकाे रामभाैरीमा श्रीमद् भागवत महायज्ञ सुरु,निकालियाे भब्य कलश यात्रा

MadhesKhabar

कलैयामा बाह्मण समाजको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा राजेश तिवारी चयन

MadhesKhabar

वीरगन्जमा चैती छठका लागि किनमेल गर्नेहरुको चहल पहल (फोटो फिचर)

MadhesKhabar

Leave a Comment