Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जका उद्योगी व्यवसायी भन्छन् – नयाँ बजेट राम्रो छ तर कार्यान्यवन गर्न चुनौती हुन सक्छ

मधेसखबर
वीरगन्ज, १५ बैशाख
:सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयन हुनेमा चुनौतीपूर्ण रहेको वीरगन्जका उद्योगी व्यवसायीहरुले बताएका छन् ।
नयाँ बजेट उद्योगी–व्यवसायी क्षेत्रका लागि राम्रो भए पनि कार्यान्वयन हुनेमा ढुक्क नरहेको उनीहरूको प्रतिक्रिया छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले ल्याएको बजेटलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको बताए । तर नयाँ बजेटमा आएको कुराहरु कार्यान्वयन गरे मात्र बजेट सकारात्मक हुने उनको भनाइ छ ।
अध्यक्ष गुप्ताले नयाँ बजेटमा व्यक्तिगत आयकरको सीमारेखा बढाइएको बताउँदै यसलाई सकारात्मक रूपमा लिएको बताए ।गुप्ताले भने,‘ बजेट सबै सरकारले राम्रै ल्याउछन् तर हाम्रो देशको समस्या भनेको बजेटको कार्यान्वयन पक्ष नै फितलो हुनु हो , आशा गरौ यसपाली ल्याइएको बजेट कार्यान्वयन होस् । उनले सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि वीरगन्जको निजी क्षेत्र सरकारसंग सहकार्य गर्न तयार रहेको बताए । अहिले ल्याइएको नयाँ बजेटको आकार पनि ठूलो रहेको र निजी क्षेत्रलाई सम्बोधन गर्ने खालको बजेट भएकाले सरकारसँग सहकार्य गर्न तत्पर रहेको गुप्ताले बताए ।नयाँ बजेटमा विनियोजन गरिएको क्षेत्र पनि सबै छनोट भएकाले यो बजेटलाई सबै क्षेत्रले सकारात्मक रूपमा लिएको उनको भनाइ छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले नयाँ बजेट चुनावी बजेटका रूपमा आएको प्रतिक्रिया दिए  । सरकारले नयाँ बजेटमार्फत सबैलाई खुसी पार्न खोजे पनि सरकारसँग ढुकुटी नै नरहेको उनको भनाइ छ । उनले सरकारले सबैलाई खुसी पार्ने खालको बजेट ल्याएको भए पनि यो कार्यान्वयन गर्न असाध्यै कठिन रहेको बताए । उनले भने ,‘ अहिले पाँच खर्ब भन्दा बढी घाटाको बजेट आएको छ, राज्यले १८ खर्ब ऋण बोकेको अवस्था छ ।उनले नयाँ बजेट मार्फत १८ प्रतिशत राजस्व उठ्ने परिकल्पना गरिएको भएपनि राजस्व उठाउने विश्वासिलो आधार नहुनुका साथै राज्यसँग खर्च गर्ने क्षमता नै नभएको बताए । तर निजी क्षेत्रका लागि सिमेन्ट र फलाम निर्यातलाई ८ प्रतिशत नगद अनुदान दिने कार्य राम्रो पक्ष रहेको उनको भनाइ छ । साभारः नयाँपत्रिका

Related posts

वीरगन्ज नाकाबाट हुने तस्करी रोक्न भन्सार कर्मचारी र सुरक्षा प्रमुखलाई अर्थमन्त्री पुनको निर्देशन

MadhesKhabar

वीरगन्जका सुनचाँदी पसलहरुमा अनुगमन टोली पुग्दा पसल नै बन्द गरेर व्यपारीहरु भागाभाग्

MadhesKhabar

भारतबाट कोइला बोकेको रेल पहिलो पटक वीरगन्ज आइपुग्यो

MadhesKhabar

Leave a Comment