Madhes Khabar
राजनीति

देउवालाई गगनको आग्रह : आफ्नो लेबल मेन्टेन गर्नुस्

काठमाडौं,८मंसिरःनेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादा कायम राख्न आग्रह गरेका छन्।

काठमाडौंमा मंगलबार आयोजित कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले देउवा पार्टीका अभिभावक र वरिष्ठ नेता भएकाले उनको अभिव्यक्ति पनि सोहीअनुसार हुनुपर्ने बताए।

देउवाकै सभापतित्वमा आफूहरूले पार्टीको कार्यसमितिमा काम गरेको स्मरण गर्दै थापाले राजनीतिक विषयमा असहमति हुनु स्वाभाविक भए पनि त्यसलाई मर्यादित ढंगले व्यक्त गर्नुपर्ने बताए।

विशेष परिस्थितिमा विधानअनुसार विशेष महाधिवेशन गरिएको उल्लेख गर्दै उनले कसले के भन्यो भन्नेभन्दा पनि देउवाजस्तो वरिष्ठ नेताले आफ्नो राजनीतिक उचाइअनुसार बोल्नुपर्नेमा जोड दिएका छन्।

सभापति थापाले जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको हो भनेर सोध्दा देउवाले टाउको हल्लाएर सहमति जनाएको एक भिडियो आफूले हेरेको प्रसंगसमेत सुनाए।

’त्यो उमेर र कदको नेताको बोली राजनीतिक हुनुपर्छ। असहमति पनि राजनीतिक हुनुपर्छ। सीमा र मर्यादाभित्र हुनुपर्छ,’ उनले भनेका छन्।

देउवाले विभिन्न सार्वजनिक मञ्चबाट दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै थापाले आफूले गुनासो नभई देउवाप्रति प्रेम र चिन्ताका कारण सुझाव दिएको स्पष्ट पारे। ’उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस्। तपाईंले आफ्नो लेबल मेन्टेन गर्नुस्,’ उनले भने।

अदालतमा चलखेल भएको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि थापाले प्रश्न उठाए। अदालतमा कसले वारेस राखेको छ भन्ने विषय खोज्न आग्रह गर्दै उनले राजनीतिक विषयमा मर्यादित अभिव्यक्ति दिन देउवालाई सुझाव दिए।साभारःसेतोपाटी

 

Related posts

स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले गरे घरघरमा स्वागत

MadhesKhabar

क्रियाशील सदस्यता अद्यावधिकका लागि कांग्रेसले सुरु गर्‍यो एक महिने ‘जरा अभियान’

MadhesKhabar

जसपा पर्साको ४ वटै क्षेत्रका इन्चार्ज चयन

MadhesKhabar

Leave a Comment