Madhes Khabar
अन्तर्राष्ट्रिय

रोमानियामा ६ सयभन्दा बढी नेपाली श्रमिकहरू कामविहीन

रोमानियामा समस्यामा परेका नेपाली

काठमाडौं,८मंसिरः तलब र आवास सुविधासम्बन्धी विवाद चर्किएपछि रोमानियामा कार्यरत ६ सयभन्दा बढी नेपाली श्रमिक समस्यामा परेका छन् ।

नेपालस्थित टाइम म्यानेजमेन्ट प्रालिमार्फत रोमानिया पुगेका उनीहरूले सम्झौतामा उल्लेख भएअनुसार तलब नपाएको र आवास सुविधाबापत रकम कटौती गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरू १० लाख रूपैयाँ तिरेर रोमानिया पुगेका थिए ।

श्रमिकहरूका अनुसार उनीहरूलाई रोमानियाको बिसार लजिस्टिक्स प्रालिमार्फत विभिन्न कम्पनीमा काममा लगाइएको थियो । नेपालबाट रोजगारीका लागि आउँदा गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु (आरओएन) उल्लेख थियो । तर, अहिले बिसार लजिस्टिक्सले २ हजार ४ सय ५५ ल्यु मात्रै उपलब्ध गराउने बताएपछि विवाद उत्पन्न भएको पीडितहरूको भनाइ छ ।

सम्झौतामा उल्लेख भएको र अहिले दिन खोजिएको तलबबीच मासिक २ सय ४४ ल्युको अन्तर छ । यसबारे सम्बन्धित एजेन्सीसँग छलफल गरे पनि समस्या समाधान नभएको श्रमिकहरूले बताएका छन् ।

विवाद थप चर्किएपछि ६ सयभन्दा बढी नेपाली श्रमिक काम बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । काममा नआए होस्टेल छाड्नुपर्ने आशयको सन्देशसमेत बिसार लजिस्टिक्सबाट प्राप्त भएको श्रमिकहरूले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

उनीहरूले होस्टेल निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यसबापत मासिक ३ सय ल्यु कटौती गर्न खोजिएको विषयमा समेत प्रश्न उठाएका छन् । सम्झौताअनुसारको तलब नपाउने र आवास सुविधासमेत अनिश्चित भएपछि आफूहरू रोजगारी, बसोबास र भविष्यको चिन्तामा परेको उनीहरूको भनाइ छ ।

समस्यामा परेका नेपाली श्रमिकले नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई घटनाबारे तत्काल चासो लिन आग्रह गरेका छन् । रोमानियास्थित नेपाली दूतावासलाई सम्बन्धित कम्पनी र श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न पनि उनीहरूले माग गरेका छन् ।

नेपालबाट आउँदा गरिएको रोजगार सम्झौता र अहिले उपलब्ध गराउन खोजिएको तलबबीचको अन्तरबारे छानबिन गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, निःशुल्क भनिएको होस्टेलका नाममा ३ सय ल्यु कटौती गर्न खोजिएको विषयको वास्तविकता पत्ता लगाउनुपर्ने उनीहरूले बताएका छन् ।

श्रमिकहरूले कामबाट निकाल्ने, होस्टेलबाट हटाउने वा अन्य कुनै किसिमको दबाब दिने कार्य रोक्न पनि सरकारसँग आग्रह गरेका छन् ।होम कार्की /कान्तिपुर

Related posts

राहुल गान्धीलाई जेल सजायको फैसलापछि भारतीय कांग्रेसले भन्यो- गान्धी डराउँदैनन, मुद्दा दायर गर्छन्

MadhesKhabar

नाइजेरियाको चर्चमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

MadhesKhabar

भारतकाे जम्मु-कश्मीरमा तीर्थयात्री बोकेको बसमा आक्रमण : ९ जनाको मृत्यु, ३३ घाइते

MadhesKhabar

Leave a Comment