Madhes Khabar
राष्ट्रिय

प्रधानमन्त्री बालेनको भ्रमणपछि भारतीय विदेश सचिवले भने : लिपुलेकको कुरै उठेन

काठमाडौं,८मंसिरःप्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आएका थिए, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा लिपुलेकको विषयमा छलफल नै नभएको भारतीय विदेश सचिव विक्रम मिश्रीले बताएका छन्।

सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव मिश्रीले दुई देशबीच लिपुलेकको विषय नउठेको स्पष्ट पारेका हुन्।

भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने विषयमा प्रधानमन्त्री शाहले आफ्नो आपत्ति राखे कि राखेनन् भनेर पत्रकारले प्रश्न सोधेका थिए।त्यसको जबाफमा मिश्रीले भने, ’आज लिपुलेकको विषय उठेन। दुई पक्षबीच यसबारे छलफल भएन। तपाईंलाई थाहै छ, लिपुलेक भारत र चीनबीचको एउटा नाका हो। लामो समयदेखि यो नाका दुई देशबीच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको छ। अहिलेको स्थिति यही हो।’

मिश्रीको यो भनाइले प्रधानमन्त्री शाहले भारत भ्रमणअघि सीमा विवादबारे लिँदै आएको अडान र नयाँदिल्लीमा भएको वार्ताबीचको विरोधाभास प्रस्टै उजागर गरेको छ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ’ग्रेटर नेपाल’ को नक्सा राखेका बालेनले प्रधानमन्त्री बनेपछि पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादमा बेलायतको समेत चासो हुनुपर्ने कुरा संसदमै बोलेका थिए।

यसबारे भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइएको जानकारी दिँदै उनले सीमा विवाद सल्टाउन चीन र बेलायतसँग कुरा गरिरहेको बताएका थिए।

’यसबारे भारत र चीनसँग मात्र होइन, बेलायत सरकारसँग पनि हामीले कुरा गरेका छौं,’ संसदमा कालापानी, लिपुलेकबारे सांसदहरूले सोधेका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री शाहले भनेका थिए, ’उहाँहरूले ब्रिटिस इन्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक र कूटनीतिक माध्यमबाट समाधान हुने जानकारी गराउन चाहन्छौं।’

बालेनको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री कार्यालयका केही व्यक्तिले बेलायती दूतावाससँग सीमा विवादको ऐतिहासिक पृष्ठभूमि र बेलायतसँग रहेका पुराना नक्सा तथा दस्तावेजबारे चासो राखेको कुरा चर्चामा आएको थियो।

तर कालापानी, लिपुलेकबारे भारतलाई कूटनीतिक नोट पठाएको भन्ने र बेलायतसँग संवाद गरिरहेको भन्ने प्रधानमन्त्री बालेनले जोसँग सीमा विवाद छ, उसैसँग भने यो कुरा राख्न सकेनन्।

सोमबार भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तापछि दुवै नेताले आफ्नो सार्वजनिक सम्बोधनमा पनि सीमा विवादबारे एक शब्द बोलेनन्।मोदी मात्र होइन, बालेन पनि यसबारे मौन रहे।

सार्वजनिक सम्बोधनमा यो विषय नउठाए पनि दुई देशबीचको वार्तामा प्रधानमन्त्री शाहले लिपुलेकबारे नेपालको अडान राखेका थिए कि भन्ने प्रश्न थियो। तर भारतीय विदेश सचिव मिश्रीले वार्तामा समेत लिपुलेकको विषय नउठेको प्रस्ट पारेका हुन्।

दुई देशले जारी गरेको २४ बुँदे संयुक्त प्रेस विज्ञप्तिमा पनि सीमा विवादको विषय एक बुँदामै सीमित छ। त्यसमा समाधान हुन बाँकी सीमा विवादमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ।साभारःसेतोपाटी

Related posts

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

MadhesKhabar

सुस्तामा भारतीय एसएसबी छिरेको विरोध गर्दा पक्राउ परेका जेनजी अभियन्ताहरू सर्वोच्चको आदेशबाट रिहा

MadhesKhabar

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

MadhesKhabar

Leave a Comment