काठमाडौं,२४कात्तिक : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २१औं खेलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएको छ। ‘लो स्कोरिङ’ खेलमा सुदूरपश्चिमले १२० को योगफल जोगाउन निकै राम्रो बलिङ गर्यो।
यो सुदूरपश्चिमको चौथो जित हो। जनकपुरको भने यो चौथो हार हो। चौथो हार बेहोरेसँगै जनकपुरको प्लेअफ सम्भावना भने निकै झिनो बाँकी रहेको छ।
त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको हो। सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.५ ओभरमा ९३ रनमा अलआउट भएको हो।
किफायती बलिङ गरेर १२० रनमा सुदूरपश्चिमलाई रोकेको जनकपुरले ब्याटिङमा लय गुमायो।
पावरप्लेमा ३ विकेट गुमाएर २८ रन बनाएको जनकपुरको मध्यक्रम पनि सुस्तायो। ओपनर आदित्य महराले १० रन बनाउँदा वान डाउन आएका तृतराज दासले केही समय जनकपुरको क्रिज धानिदिएका थिए। तृतराज दास २१ रनमा रनआउट भएपछि भने जनकपुरको उधोगति सुरु भयो।
त्यसपछि आएका ५ ब्याटर दोहोरो अंकमा रन नबनाउँदै पेभेलियन फर्किए । जिमी निशम २० रनमा बाउन्ड्रीमा क्याच भए। अन्तिम ब्याटरको रुपमा क्रिजमा आएका राहुल यादव अन्तिम विकेटको रुपमा ११ रनमा अनिल खरेलको बलमा बोल्ड भए।
सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट केगुइलेनले ३ विकेट लिँदा हेमन्त धामी, थारिन्दु रत्नायके, दिपेन्द्र सिंह ऐरी, इशान पाण्डे र अनिल खरेलले १औ१ विकेट लिए।
त्यसअघि, पहिलो इनिङ्मा ब्याटिङ गरेका सुदूरपश्चिम रोयल्सलेलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्का कप्तान हर्मित सिंहले ४ विकेट लिए। उनको घातक बलिङमा सुदूरपश्चिमको मध्यक्रम ध्वस्त बनाए।
सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन म्याकमूलेनले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा समान २ चौका र २ छक्का प्रहार गरे।
सुदूरपश्चिमले ओपनरद्वय विनोद भण्डारी र सैफ जैबलाई सस्तैमा गुमाएको थियो। दुवै ओपनरले १०÷१० रन बनाए। त्यसपछि आएका इशान पाण्डे र दिपेन्द्र सिंह ऐरी क्रमशः ३ र १ रनमा पेभेलियन फर्किए। आरिफ शेख ११ रनमा डगआउट फर्किएका थिए।
मध्यक्रममा आएका थरिन्दु रत्नायकेले मात्रै टिकेर खेले । एकतर्फबाट विकेट पतन भइरहँदा सुदूरपश्चिमको लागि उनले मध्यक्रममा ‘वान म्यान आर्मी’को काम गरेका हुन्। जनकपुर बोल्ट्सका लागि बलिङतर्फ कप्तान हर्मितको साथमा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता, अभिषेक तिवारीले १औ१ विकेट लिए।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा पोखरालाई ६ विकेटले जितेको सुदूरले तेस्रो खेलमा विराटनगर किंग्ससँग ३५ रनको हार बेहोरेको थियो। चौथो खेलमा चितवन राइनोजलाई ५ विकेट र पाँचौं खेलमा कर्णाली याक्सलाई ३९ रनले हराएको थियो।
जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर बोल्ट्सले चौथो खेलमा विराटनगर किंग्ससँग २ रन र लुम्बिनी लायन्ससँग १६ रनले पराजित भएको थियो।

