वीरगन्ज,१ असोजः वीरगन्जमा सडक विस्तारको क्रममा अस्तव्यस्त बनेको मेनरोड आगामी दसैँअघि पूर्ण रूपमा सफा र व्यवस्थित बनाउने विषयमा वीरगन्ज महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबिच सहमति भएको छ ।
वीरगन्जका मेयर मेयर राजेशमान सिंह र सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इन्जिनियर दुर्गा प्रसादबिच भएको छलफलमा सडक विस्तारका क्रममा भत्काइएका संरचनाका अवशेष, निर्माण सामग्री तथा अन्य अव्यवस्थित सामग्री हटाएर मुख्य सडकलाई व्यवस्थित र सफा बनाउने विषयमा सहमति भएको हो ।
दसैँ नजिकिँदै गर्दा मेनरोडलाई सफा, व्यवस्थित र आवागमन सहज हुने गरी व्यवस्थापन गर्न महानगरपालिका र सडक डिभिजन कार्यालयले सहकार्य गर्ने सहमति गरेको बताइएको छ ।
सडक विस्तारका क्रममा वीरगन्जको मेनरोड क्षेत्रमा रहेका अधिकांश घर तथा संरचना भत्काइएपछि सडक क्षेत्रमा भग्नावशेष र निर्माण सामग्री छरपस्ट रहेको भन्दै त्यसले आवतजावतमा कठिनाइ हुनुका साथै बजार क्षेत्रको सौन्दर्यमा समेत असर परेको छ ।

