मकवानपुर,३०भदाैं:मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सुकौरामा मंगलबार भएको ईभी माइक्रो दुर्घटनामा मृतक र घाइते सबैको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा बाराकाे कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय ईभी चालक अमिर अन्सारी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङतान रहेका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, बारा महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादव मध्यम घाइते भएकी छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सडकबाट करिब एक हजार मिटर तल खसेको थियो ।
मकवानपुर प्रहरी प्रमुख श्याम खत्रीका अनुसार काठमाडौँबाट वीरगन्ज आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी मंगलबार दिउँसो इन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको थियो ।
उनका अनुसार अनुसार ईभीमा चालकसहित आठजना सवार थिए । दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । दुर्घटनालगत्तै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । उद्धार गरिएका घाइतेलाई तत्काल उपचारका लागि पठाइएको र मृतकको शव हेटौँडा अस्पताल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

