Madhes Khabar
वाग्मती प्रदेश

त्रिभुवन राजपथमा सवारी चाप, हेटौंडाबाट काठमाडौं पुग्न १० घण्टा

हेटौंडा,२७ भदौं :हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं पुग्न अहिले यात्रुवाहक बस र मालवाहक ट्रकलाई कम्तीमा १० घण्टा लाग्ने गरेको छ । ‘कही जाम भएर, कही गाडीलाई मोड नपुगेर रोकिएको छ, कतै नालीमा गाडी फसेको हुन्छ, विस्तारै अगाडि बढ्नु पर्ने भएकाले काठमाडौं पुग्न १० घण्टा लागिरहेको छ, ’ रात्रि बसका चालक शेरबहादुर बुढाथोकीले भने,‘ ट्रक र ट्यांकरका चालक त लामो जाम भए त्यहीँ सडक छेउमा खाना पकाउँछन् । तर बसका यात्रुलाई भने निकै समस्या हुन्छ ।’ त्रिभुवन राजपथमा सबै स्थानमा होटलको सुविधा नहुँदा लामो जाम पर्दा यात्रुलाई खानपिनको समस्या हुने गरेको प्रहरी निरीक्षक भण्डारी बताउँछन् ।

अहिले त्रिभुवनन राजमार्गमा दैनिक सडक अवरुद्ध र दुर्घटना पनि हुने गरेको छ । शनिबार बिहान ६ बजेदेखि त्रिभुवन राजपथमा १२ घुम्तीमा एउटा बस बिग्रेर राजमार्ग तीन घण्टा अवरुद्ध भएको थियो । शनिबार बिहान मकवानपुरको थाहा नगरपालिकाको नौखण्डेनजिकै फलामे डन्डी बोकेको ट्रक पनि सडकबाट तल खसेको थियो ।

विसं २०१३ सालदेखि संचालनमा आएको यो राजमार्गमा यतिधेरै सवारीको चाप पहिलो पटक परेको डिभिजन सडक कार्यालय हेटौंडाका प्रवक्ता ईन्जिनियर यादव सुवेदीले बताए । ‘५०÷६० सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक ६ हजार भन्दाबढी मालवाहक र यात्रुबाहक बस चलिरहेका छन्,’ उनले भने, ‘साँघुरो सडकमा गाडीको चाप धेरै भएर समस्या निम्तिरहेको हो ।’

२०५७ सालमा पनि धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वीराजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथ भएर यसरी नै गाडी चलेका थिए । त्यतिबेला सवारी साधनको संख्या कम रहेको र १० चक्का माथिका गाडी नरहेको उनले बताए । त्यतिबेला त्रिभुवन राजपथ भएर ९ दिनमात्र गाडी चलेका थिए । त्यसपछि कृष्णभीरको मर्मतपश्चात पृथ्वीराजमार्गबाट नै सावरी साधन चलेका थिए । सवारी साधनको चाप र भारवहन क्षमता कारणले त्रिभुवन राजपथमा खाल्डाखुल्डी भाँसिने समस्या बढिरहेको छ ।

काठमाडौंको लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग कृष्णभीरको पहिरोले दुई सातादेखि बन्द भएपछि हेटौंडा भएर राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ, कान्ति लोकपथ र हेटौंडा—भीमफेदी —कुलेखानी फाखेल र सिस्नेरी सडक मार्गमा सवारीको चाप परेको छ । हेटौंडादेखि काठमाडौंको थानकोटसम्म त्रिभुवन राजपथ १३२ किलोमिटर छ ।

नेपालकै सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथमा मालवाहक र यात्रुवाहक सवारी साधनको चर्को चाप परेको छ । साँघुरो रोड र घुमाउरो सडकमा अहिले १२ पांग्रेदेखि लामो दुरीका ठूला बस हेटौंडा हुँदै त्रिभुवन राजपथ भएर काठमाडौं प्रवेश गरिरहेका छन् । १२ चक्के ट्रक र ठूला बसलाई मोडमा ‘ब्याक’ नगरी नहुने अवस्था रहेको चालकहरु बताउँछन् । ‘धेरै ठाउँमा त मोड नै पुग्दैन व्याक गरेर अगाडि बढ्नु पर्छ,’ १२ चक्के मालवाहक गाडीका चालक हरेराम कार्कीले भने,‘उकालो, साँघुरो मोड र घुमाउरो सडक भएकाले हेटौंडाबाट काठमाडौं पुग्न १० देखि १५ घन्टा लागिरहेको छ ।’ त्रिभुवन राजपथमा अहिलेसम्म सवारी साधन नचलाएका चालकलाई यो सडकमा गाडी चलाउन कठिनाई भइरहेको कार्की सुनाउँछन् । सडकको अवस्थाकै कारण कतिपय पुराना गाडी बिग्रेर त्रिभुवन राजपथ सडक किनारामा राखिएको उनले बताए । प्रताप विष्ट/कान्तिपुर

Related posts

पर्सामा एसपी रहिसकेका धिरज प्रताप, नेपाल प्रहरीको आइजीपीमा नियुक्त

MadhesKhabar

काँग्रेसको घोषणापत्रले ओली पागल भएका छन् – गगन थापा

MadhesKhabar

वीरगन्ज आउँदै गरेकाे ईभी दुर्घटना अपडेट : मृतक र घाइते सबै जनाकाे पहिचान खुल्याे

MadhesKhabar

Leave a Comment