Madhes Khabar
स्थानिय हेडलाइन

जनताको स्वास्थ्यसगँ खेलाड गर्दै शिवम् लेयर्स फार्म : फार्मको फोहोरले गाउँ दुर्गन्धित,खोला पनि प्रदूषित

वीरगन्ज,२० भदौं :पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने फोहोर तथा दुर्गन्धित पानीको उचित व्यवस्थापन नहुँदा गादी खोला प्रदूषित बनेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

कुखुरा फार्म परिसरमा जम्मा हुने मरेका कुखुरा, बिग्रिएका अन्डा तथा कुखुराका सुली लगायतका फोहोरबाट निस्कने दुर्गन्धित पानी खेत हुँदै गादी खोलामा मिसिने गरेको स्थानीयको दाबी छ । उक्त पानी खोलामा मिसिएपछि खोलाको पानी दुर्गन्धित र फोहोर बन्न थालेको उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार फार्मभित्र रहेको पोखरीमा मरेका कुखुरा, बिग्रिएका अन्डा,सुली लगायतका फोहोर जम्मा हुने गरेको छ । त्यहाँबाट निस्कने फोहोरयुक्त पानी खेत हुँदै गादी खोलासम्म पुग्ने गरेको उनीहरूले बताएका छन् ।

सिंचाइको पानी प्रदूषित भएको गुनासो

गादी खोलामा मिसिएको फार्मको प्रदुषित र दुर्गन्धित पानी पटेर्वासुगौली–२ का रङ्गपुर, मकवानी टोल, बेलवा, कौवावन कटैया तथा देउरवानासम्म पुग्ने स्थानीयको भनाइ छ । खोलाको पानी कतिपय क्षेत्रमा कृषि सिंचाइका लागि प्रयोग हुँदै आएको छ । स्थानीयले प्रदूषित पानीबाट सिंचाइ गर्दा कृषि उत्पादनमा असर परेको दाबी गरेका छन् । विशेषगरी धानबालीमा नकारात्मक प्रभाव देखिएको उनीहरूको गुनासो छ । स्थानीयका अनुसार केही वर्ष अघिसम्म सफा रहेको गादी खोलाको पानी विभिन्न पर्व तथा धार्मिक अवसरमा स्नानका लागि समेत प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय पानी दुर्गन्धित र फोहोर देखिन थालेपछि स्नानलगायत अन्य प्रयोजनमा प्रयोग गर्न समस्या भएको उनीहरू बताउँछन् ।

पानी पिएपछि पशु बिरामी पर्छन्

खोलाको आसपास गाई, भैंसी, बाख्रालगायतका पशुचौपाया चराउने गरिन्छ । स्थानीयले प्रदूषित पानी पिएपछि पशु बिरामी पर्ने र मर्ने गरेको दाबी गरेका छन् । स्थानीय समाजसेवी दीपक रसाइलीले फार्मबाट निस्कने फोहोर तथा दुर्गन्धित पानी खोलामा मिसिएको विषयमा आफूले पटकपटक आवाज उठाउँदै आए पनि प्रभावकारी सुनवाइ नभएको गुनासो गरे ।

‘पशुहरूले यो पानी पिएपछि दुई÷चार दिनभित्र बिरामी पर्ने र मर्ने अवस्था देखिएको छ,’ रसाइलीले भने । उनका अनुसार गादी खोलाको पानी विभिन्न पैनीमार्फत खेतसम्म पुग्ने भएकोले खोलामा मिसिने प्रदूषित पानीको प्रभाव ठूलो क्षेत्रमा पर्न सक्छ ।

स्थानीयले प्रदूषित पानीकै कारण एउटा बाख्रा मरेको दाबी गरे पनि उक्त पशुको मृत्यु पानीकै कारण भएको हो वा अन्य कारणले भन्ने विषयमा भने परीक्षणबाट पुष्टि हुन बाँकी छ ।

साँझपख गाउँभरि दुर्गन्ध फैलिने गुनासो

फार्म मानव बस्तीको बीच भागमा रहेकोले त्यहाँबाट आउने दुर्गन्ध साँझको समयमा हावासँगै गाउँमा फैलिने गरेको स्थानीयको गुनासो छ । एक स्थानीय महिलाले साँझपख दुर्गन्धका कारण घरमा बस्नसमेत समस्या हुने गरेको बताइन् । फार्मबाट निस्कने फोहोर तथा दुर्गन्ध नियन्त्रणका लागि नियमित अनुगमन गरी आवश्यक कदम चाल्न उनले सम्बन्धित निकायसँग माग गरिन् । स्थानीयका अनुसार फार्मको फोहोर व्यवस्थापन र दुर्गन्धको विषयमा लामो समयदेखि गुनासो रहँदै आए पनि समस्या समाधान हुन सकेको छैन । केही स्थानीयले फार्म सञ्चालकले आफ्नो प्रभाव र आर्थिक शक्तिका कारण स्थानीयको आवाज बेवास्ता गर्ने गरेको आरोपसमेत लगाएका छन् ।

स्वास्थ्य चौकी आसपास पनि जोखिमको चिन्ता

उक्त कुखुरा फार्मबाट दुर्गन्धित पानी बग्ने क्षेत्रनजीकै गादी स्वास्थ्य चौकी रहेको छ । प्रदूषित पानीका कारण स्वास्थ्य चौकी आसपासको वातावरण र सेवाग्राहीको स्वास्थ्यमा असर पर्नेे स्थानीयको भनाइ छ । स्थानीयले गादी खोलाको पानीमा के कस्ता पदार्थ मिसिएका छन् भन्ने यकीन गर्न पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्न माग गरेका छन् । साथै, फार्मबाट निस्कने जैविक तथा अन्य फोहोरको व्यवस्थापन वातावरणीय र स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसार भइरहेको छ वा छैन भन्ने विषयमा छानबीन गर्नुपर्ने उनीहरूको माग छ ।

स्थानीयले लगाएको आरोपबारे शिवम् लेयर्स फार्मका म्यानेजर राजकिशोर चौधरीसँग प्रतिक्रिया लिंदा उनले फार्मबाट निस्किएको पानीका कारण गादी खोलामा समस्या भएको विषयमा आफूलाई जानकारी नभएको बताए । चौधरीले पानीसम्बन्धी विषयमा आफूलाई थप जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दाहाल भन्छन् : बुझौंला

कुखुरा फार्मको लापरवाहीबारे पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग प्रतिक्रिया लिदाँ उनले यस विषयबारे बुझ्ने बताए । स्थानीयको गुनासोपछि अब प्रशासनसँगै सम्बन्धित स्थानीय तह, स्वास्थ्य, कृषि, पशु तथा वातावरणसम्बन्धी निकायले स्थलगत अनुगमन गर्नुपर्ने देखिएको छ । फार्मबाट निस्कने फोहोर र पानीको वास्तविक अवस्था, गादी खोलामा त्यसको प्रभाव तथा स्थानीयले लगाएका आरोपको सत्यता पत्ता लगाउन पानीको नमूना परीक्षण आवश्यक देखिन्छ । परीक्षणबाट वातावरणीय वा स्वास्थ्यसम्बन्धी जोखिम पुष्टि भएमा सम्बन्धित निकायले प्रचलित कानून अनुसार आवश्यक प्रशासनिक तथा कानूनी कदम चाल्नुपर्ने स्थानीयको माग छ । (यो समाचार आजको प्रतीक दैनिकमा प्राकशीत छ ।)

Related posts

पर्सामा गाेली चल्याे, एक जना घाइते

MadhesKhabar

होलीको उपलक्ष्यमा अभिभावक संघले आयोजना गरेको कार्यक्रममा ७५ जनाद्वारा रक्तदान

MadhesKhabar

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृतसहितका शाखा प्रमुखहरु ठेकेदारसंग भारत भ्रमणमा

MadhesKhabar

Leave a Comment