काठमाडौँ,४भदाैं:बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीको जिम्मेवारी खोसिएको छ । उनलाई त्यहाँबाट सरुवा गरेर सिमरामा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीले डीएसपी क्षेत्रीको काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
सिमरामा कार्यरत डीएसपी क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रबताए । सिमरामा पठाइएका भट्ट प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
बाराको सिमरामा भदौ २ मा मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिका गरिमा चाैधरीको खोजतलासमा प्रहरीले ‘बेवास्ता’ गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । साउन ३१ देखी हराएकी बालिका गरिमाको बलात्कार पछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
गरिमाको शव सिमरा उपमहानगरपालिका–१ स्थित खाली रहेको घरमा मंगलबार साँझ भेटिएको थियो । बालिका हराएपछि जानकारी गराउँदा पनि प्रहरीले खोजतलास र अनुसन्धानमा बेवास्ता गरेको स्थानीयको आरोप छ ।
बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने १६ वर्षीय सुमन थापा र सिमरा–१ घर भएका २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिसकेको छ ।
सुमन थापा ना.१ ज ७७५८ नम्बरको म्याजिकको सह चालक हुन् । उनले नै चकलेट दिएर फकाएर बालिकालाई घटनास्थलमा लगेर बलात्कार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए । पक्राउ परेका अर्का आरोपी म्याजिकका धनी २४ वर्षीय प्राेग्रेस चाैधरी हुन् ।साभार: राताेपाटी

