वीरगन्ज,२७ साउनः काठमाडौंको एक फलफुल पसलबाट प्रहरीले हुण्डीको आशंकामा ८१ लाख रुपैयाँ बढी रकमसहित पर्साका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मा स्थायी घर भई हाल काठमाडौंको कुलेश्वरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र साह तुराहा रहेका छन् ।
काठमाडौं महानगरपालिका १४ कुलेश्वर फलफूल मण्डी स्थित आँचल फ्रुट सेन्टर पसलमा श्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यहि सूचनाको आधारमा मंगलबार प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त फलफूल पसलमा छापा मारेको थियो । त्यसक्रममा तुराहा सञ्चालक रहेको उक्त फलफुल पसल र उनको डेराबाट गरी ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद भएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
तुराहाको पसल र डेरा कोठामा खानतलासी गर्दा श्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार ३०० रुपैयाँ र भारु ३ लाख ४ हजार ३०० रुपैयाँ ( नेरु ४ लाख ८६ हजार ८८० रुपैयाँ) गरी कूल ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकम हुण्डीको कारोबारको रहेको प्रहरीको आशंका छ ।
बरामद रकमसहित पक्राउ परेका तुराहालाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध हुण्डी सम्बन्धि कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

