वीरगन्ज,२४साउन:हिन्दु धर्म तथा सनातन संस्कृतिको संरक्षण र हिन्दु आस्थाका केन्द्रमाथि हुने अपमानजनक गतिविधिविरुद्ध आवाज उठाउने उद्देश्यले पर्सामा विश्व सनातन हिन्दु महासंघ गठन गरिएको छ।
वीरगञ्जस्थित नृसिंह मन्दिरको प्राङ्गणमा शनिबार आयोजित भेलाले विनेश प्रसाद कुर्मीको संयोजकत्वमा महासंघको ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।महासंघ पर्साकाे महासचिवमा जलेश्वर सर्राफलाई चयन गरिएको छ।
नृसिंह मठका मूलपुजारी श्री श्री श्री १०८ श्री सुदर्शन आचार्यको अध्यक्षतामा बसेको भेलामा सहभागीहरूले पछिल्लो समय हिन्दु धर्मावलम्बीहरूको आस्था, धार्मिक स्थल तथा मठमन्दिरमाथि विभिन्न किसिमका आक्रमण र अपमान हुने गरेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका थिए। हिन्दु धर्म र सनातन संस्कृतिको संरक्षण तथा धार्मिक आस्थामाथि हुने हस्तक्षेपविरुद्ध संगठित रूपमा आवाज उठाउन महासंघ गठन गरिएको उनीहरूको भनाइ छ।
महासंघ पर्साका संयोजक विनेश प्रसाद कुर्मीले आगामी दिनमा हिन्दु धर्मावलम्बी तथा उनीहरूको आस्थामाथि कुनै पनि पक्षबाट अपमान वा हस्तक्षेप गर्ने प्रयास भए त्यसको कडा प्रतिकार गरिने चेतावनी दिए। उनले धार्मिक सहिष्णुता कायम राख्दै हिन्दु धर्म तथा सनातन संस्कृतिको संरक्षणका लागि महासंघ सक्रिय हुने बताए।

