वीरगन्ज,२३ साउनःवीरगन्जको मेनरोड(मुख्य सडक) विस्तारका क्रममा सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित बिजुलीका तारको व्यवस्थापनको काम तीव्र पारिएको छ।
महानगरका कार्यवाहक मेयर इम्तियाज आलमको निर्देशनमा सडकका खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तारहरु हटाउने अभियान सञ्चालन गरिएको हो।
खासगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको निरन्तर प्रयोगले बनेका खाल्डाखुल्डी र चुँडिएका तारका कारण सर्वसाधारण तथा सवारीचालकले सास्ती भोग्दै आएका छन्। त्यहि सुविधालाई ध्यानमा राख्दै तत्काल समाधानका लागि महानगरले अग्रसरता लिएको हो।
महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीका अनुसार सडकमा रहेका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने र बिजुलीका पोलमा टाँगिएका काम नलाग्ने तथा अलपत्र तारहरू हटाउने काम भइरहेको छ। महानगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउन यो अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए।


