वीरगन्ज,२५फागुनः यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ बर्षिय अखिलेश कुमार साह रहेका छन् ।
प्रहरीका अनुसार, फागुन २३ गते नारायणगढबाट वीरगन्ज आएको यात्रुवाहक बसमा सवार यात्रु बाराको आदर्श कोतवाल गाँउपालिका–८ का उपेन्द्र मुखियालाई साहले नशालु पदार्थ मिसाइएको मिठाई र बिस्कुट खुवाएर बेहोस पारेका थिए ।मुखिया बेहोस भएपछि उनको साथमा रहेको नगद ४१ हजार ५०० रुपैयाँ र १ थान मोबाइल लुटेर साह वीरगन्जको नयाँ बसपर्काबाट फरार भएका थिए ।
साहलाई बेहोस पारेर लुटिएको खबर पाएको प्रहरीले खोजतलाश गर्ने क्रममा साहलाई बसपार्कस्थित भानुचोकबाट पक्राउ गरेको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए । पक्राउ परेका साहको साथबाट लुटपाट गरिएकोमध्ये ३७ हजार ४१० रुपैयाँ र १ थान मोबाइल बरामदपनि गरिएको थापाले बताए ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरक्षिक थापाले जानकारी दिए ।

