वीरगन्ज,१६ साउनः वीरगन्ज–२ इदगाह चेकभित्रको सडकमा शुक्रबार बेलुकी वीरगन्ज–१६ इनर्वाका १८ वर्षीय रन्जित यादवलाई निर्घात कुटपिट गरि घाइते बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–२ छपकैयाका १८ वर्षीय समीर अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार, शुक्रबार बेुलकी करिब ७ः३५ बजे यादव वीर्तास्थित फुपुको घरबाट आफ्नो घरतर्फ फर्किने क्रममा इदगाह चोकभित्रको सडकमा अन्सारीले पुरानो व्यक्तिगत विवादका कारण यादवमाथि कुटपिट गरेका थिए ।कुटपिटबाट घाइते यादवको ओठ र नाकमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घटना भएलगत्तै घाइते यादवलाई प्रभु अस्पतालमा लगिएको थियो । त्यहाँ उनलाई शुक्रबार बेलुकी आईसीयुमा राखर उपचार सुरु गरिएको थियो ।
यादवलाई कुट्ने अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
यसैबीच उक्त घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा सामाजिक तथा धार्मिक सद्भाव खल्बलिने किसिमका सामग्री सम्प्रेषण भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मल्लद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा घटनाको सत्यतथ्य अनुसन्धान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइसकिएको उल्लेख गर्दै अपुष्ट तथा भ्रामक सूचना नफैलाउन आग्रह गरिएको छ ।
प्रहरीले सञ्चारकर्मी तथा सर्वसाधारणलाई सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न हार्दिक अपिल पनि गरेको छ ।

