रौतहट,२९साउन:रौतहटको गरुडा नगरपालिका–६ पोठीयाहीगाउँबाट भारतको झारखण्डस्थित बाबा बैधनाथ र बासुकीनाथ दर्शन गर्न गएका तीर्थयात्रीहरु सवार बस शुक्रबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् । दुर्घटनामा ४५ भन्दा बढी यात्रु घाईते छन् ।
बाबा वैद्यनाथ धाम र बासुकीनाथ दर्शन गरेर फर्कने क्रममा ट्रकसँग बस ठोक्किएको थियो । दुर्घटनामा बसका कर्मचारीसहित करिब ५० जना सवार थिए । उनीहरूमध्ये अधिकांश घाइते छन् । गरुडा-६ पोठीयाहीका वडाध्यक्ष रामबाबु चौधरीले झारखण्डमा भएको बस दुर्घटनामा परी स्थानीय नवल चौधरी र उनकी श्रीमतीको मृत्यु भएको जानकारी दिए ।
गाउँकै राजेश महतोको १४ वर्षीय छोरा शिवम महतोको पनि मृत्यु भएको चौधरीले बताए । ‘उनीहरू बुधबार बाबाधाम यात्रामा निस्केका थिए । हामी घटनामा परेकाहरू बारे थप बुझ्दै छौँ,’ उनले भने, ‘गाउँकै ४७ जना तीर्थयात्रमा गएका थिए । घटनामा बारे थप बुझ्दै छौँ ।’
भारतीय सञ्चारमाध्यम लोकतन्त्र–१९ का अनुसार बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजा गरेर राजगीर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडिहा मोड नजिकै बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनमा तीन नेपाली तिर्थालुको मृत्यु भएको उक्त सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनालगत्तै सदगावा थानबाट प्रहरी पुगेको थियो । घाइते अधिकांशलाई सद्भावमा अस्पताल लगिएको स्थानीय प्रहरीले जनाएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भारतमा नेपाली तिर्थालु सवार बस दुर्घटना भएको बारे आफुले पनि थाहा पाएको बताए । ‘हामी पनि भारतीय सुरक्षाअधिकारीहरूमार्फत जानकारी लिँदै छौँ,’ उनले भने,‘यस विषयमा माथि जानकारी गराइसकेका छौँ ।’ साभार:इकान्तिपुर

