वीरगन्ज,१७ असारःनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि कृत्रिम अभाव सृजना गरेका वीरगन्जका पेट्रोल पम्पहरुमा बुधबार स्थानीय प्रशासनले छड्के अनुगमन गरेको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको थियो ।
निमगले मूल्इ घटाएपछि वीरगन्जका पनि अधिकांश निजी पेट्रोल पम्पहरुले बुधबार बिहानैदेखि पेट्रोल र डिजेल सकिएको भन्दै पम्पहरुमा बोर्ड झुण्ड्याएका छन् । भाउ घटेपछि पम्पका सञ्चालकहरूले कृत्रिम अभाव सृजना गरेको जनगुनासो आएपछि बुधबार दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल आँफै प्रहरीसहित पम्पहरुमा अनुगमनमा पुगेका हुन् । त्यसक्रममा वीरगन्जका १२ वटा पेट्रोल पम्पहरुमा अनुगमन गर्दा दुई वटा (मनोज आयल र दूर्गा आयल स्टोर्स) मात्रै पेट्रोल र डिजेल बिक्री गरिरहेको भेटिएको प्रजिअ दाहालले बताए ।
अन्य १० वटा पेट्रोल पम्पहरुले भने माग अनुसारको पेट्रोल र डिजेल आयल निगमको डिप्पोले समयमै उपलब्ध गराउन नसकेको र मौज्दातपनि सकिएका कारण पम्प बन्द गर्नु परेको जवाफ दिएको प्रजिअ दाहालले जानकारी दिए ।
ती पम्पका सञ्चालकहरुलाई आगामी दिनमा मौज्दात नसकिने गरी इन्धनको व्यवस्थापन गर्न निर्देशन दिइएको दाहालले बताए । साथै आयल निगमले नियमित आपुर्ति गरिरहेकै अवस्थामा अब आइन्दा उपभोक्ताहरुलाई सास्ती हुने गरि काम नगर्न निर्देशनपनि दिइएको दाहालले जानकारी दिए ।

