वीरगन्ज,१६पुष: काठमाडौंमा साेमबार राष्ट्रिय धाेती दिवस मनाउने क्रममा प्रहरीले जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसहित मधेसी समुदायका ३० जनालाई पक्राउ गरेकाे विराेधमा जनमत पार्टीले वीरगन्जमा प्रदर्शन गरेकाे छ।
अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन जनवरी १ तारिखको अवसर पारेर साेमबार बिहान माइतीघरमा ‘धोती दिवस’ मनाउन भन्दै भेला भएका बेला प्रहरीले हस्तक्षेप गरेर अध्यक्ष राउत, सचिव विपी साह, प्रवक्ता शरद यादव लायतकालाई पक्राउ गरेकाे थियाे।
त्यसैकाे विराेधमा र पक्राउ परेकाहरुलाई विना शर्त रिहाईकाे माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ताले वीरगन्जको प्रतिमा चाेकमा साेमबार दिउँसो प्रदर्शन गरेका हुन्।उनिहरुले प्रहरी र सरकारकाे विरुद्धमा नाराबाजी सडकमा टायरपनि बालेका छन्।सडकमा टायर बालेपछि प्रदर्शनमा प्रहरीले हस्तक्षेपनि गरेकाे छ।
प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले प्रचण्ड सरकार मुर्दावाद, गृहमन्त्री मुर्दावाद, पक्राउ परेका नेताहरुलाई रिहा गर लगायतका नारा लगाएका थिए।प्रदर्शनकाे नेतृत्व गरेका जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले मधेसी समुदायले आफ्नाे पहिचानका लागि धाेतीसहितकाे पाेशाक लगाएर धाेती दिवस मनाउँदा सरकारले हस्तक्षेप गरेर धरपकड गर्नु लाेकतन्त्रकै उपहास भएकाे बताए।उनले काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई विना शर्त रिहा नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।
सर्राफकाे नेतृत्वमा भएकाे प्रदर्शनमा जनमत पार्टीका केन्द्रीय सदस्यहरु प्रहलाद गिरी, सिपु तिवारी ,विनय यादव ,श्याम गुप्ता, रामजी रौनियार ,नजमा खातुन, संजय सिह, रेखा यादव ,उमा शंकर गुप्ता, अभिशेख तिवारी ,महादेव शर्मा,बिगु साह, अर्जुन महतो लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो।
साेमबार बिहान जनमत पार्टीका अध्यक्ष राउतसहित मधेसी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो ।त्यस क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेलपनि भएको थियाे ।
सरकारले हाल नयाँ बानेश्वरदृखि माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।