बारा, १० असारः बाराको कलैया उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब २ अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।
बुधबार कलैयाको करणराज होटलमा आयोजित कलैया उपमहानगरपालिकाको १७ औं नगरसभाको अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत आगामी आर्थिक वर्षका लागि १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।नगरसभामा प्रमुख प्रशासकीय अधिकृतले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
नगरसभालाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले कृषि र पूर्वाधार विकासलाई नगरको समृद्धिको आधार बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरिएको बताए। उनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनतामुखी, पारदर्शी र उत्तरदायी स्थानीय शासनमार्फत नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उपमेयर उपप्रमुख रौशन प्रविणले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले नगरको समग्र विकास, आर्थिक गतिविधि विस्तार तथा आधारभूत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।
मेयर साहकै अध्यक्षतामा भएको नगरसभामा उपमहानगरका २७ वटै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, कर्मचारी लगायतकाको पनि सहभागिता रहेको थियो।

