जनकपुरधाम, ८ असारः चितवनको भरतपुरमा जारी सत्तारुढ दल रास्वपाको प्रथम महाधिवेशनमा चर्चित नेता तथा सांसद अमरेशकुमार सिंह अनुपस्थित भएका छन् । पछिल्लो समय सरकारको नेतृत्वसँग असन्तुष्ट सुनिएका नेता सिंहले रास्वपाको पहिलो महाधिवेशन अघोषित बहिष्कार गरेका हुन् ।
सर्लाहीको क्षेत्र नम्बर ४ बाट कांग्रेसका सभापति गगन थापालाई चुनावमा भारी मतान्तरले हराएका सिंह महाधिवेशनमै नआउनु स्वाभाविक होइन । सोमबार सार्वजनिक भएको मधेसका महाधिवेशन प्रतिनिधिको सूचीमा पनि उनको नाम छैन । यद्यपि, रास्वपाका सांसदहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । त्यसैले सिंहलाई महाधिवेशनमा भाग लिन प्राविधिक समस्या थिएन ।
महाधिवेशनस्थलमा रहेका अमेरेशनिकट नेता कार्यकर्तासँग सोधखोज गर्दा हिजो र आज पनि नदेखिएको बताएका छन् । अमरेशको नम्बरमा फोन गर्दा स्वकीय सचिव रणजीतले उठाए ।फोनमा उनले भने, ‘उहाँ महाधिवेशनमा जानुभएको छैन तर किन जानुभएन भन्ने मलाई थाहा भएन ।’
अमरेशले बालेन र रविलाई एकसाथ जनकपुरको बाह्रबिघा मैदानमा उतारेर पार्टी प्रवेश गरेका थिए । उनले बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने समेत घोषणा गरेका थिए । तर, पछिल्लो समय उनी रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता साहसँग असन्तुष्ट रहेको बुझिएको छ ।
दुईतिहाइको सरकार निर्माणपछि भएको मन्त्रिमण्डल विस्तारदेखि उनी असन्तुष्ट बनेका हुन् । उनलाई उद्योग मन्त्रीका लागि प्रस्ताव गरिएको भए पनि अस्वीकार गरेका थिए । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरकारप्रति विभिन्न असन्तुष्टि राख्दै आएका अमरेशले बजेटको पनि आलोचना गरेका छन् ।
उनले महाधिवेशनबाट सके उपसभापति नत्र महामन्त्री सर्वसम्मत हुनुपर्ने माग राखेको बताइन्छ । तर, दुवै नेताले सो विषयमा चर्चा गर्न नमानेको स्रोतहरूको भनाइ छ ।
अमरेश नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन् । कुनै बेला नेपाली राजनीतिको ‘अक्टोपस’ का नामबाट समेत चर्चित रहेका सिंहले २०७९ मा स्वतन्त्र सांसद निर्वाचित भएपछि उक्त संसदले २०८४ नदेख्ने ठोकुवा समेत गरेका थिए ।
गत वर्ष एउटा अन्तर्वार्तामा उनले नेपालमा युवाहरूको आन्दोलन हुने, त्यसमा कुनै राजनीतिक शक्तिको नेतृत्व नरहने तर सेना र न्यायपालिका समेतको समर्थनमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्ने भविष्यवाणी गरेका थिए । नभन्दै ठ्याक्कै नेपाली राजनीति त्यही ठाउँमा पुग्यो ।
सिंहले पछिल्लोपटक आफ्नो असन्तुष्टि सार्वजनिकरूपमै राख्दै मधेस विष्फोटनको नजिक रहेको र यो संविधान नै नरहन सक्ने दाबी गरेका छन् । शिव अधिकारी यदुवंशी /नेपालप्रेस

