चितवन,७असारः राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई विभिन्न विचार र पृष्ठभूमिका जनताले मत दिएको बताउँदै नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि रास्वपालाई मत दिएको दाबी गरेका छन् ।
आइतबारदेखि चितवनमा सुरु रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बालेनले राजा ल्याउँछ भनेर राप्रपालाई भोट नदिइ आफ्नो भोटरहरूले रास्वपालाई भोट दिएको बताए ।
‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ लिङ्देनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर भोट दिने मान्छे पनि छन् ।’
रास्वपाले देश बनाउने अवसर पाएको भन्दै यसमा चुकियो भने धोका पार्टी वा नेतृत्वलाई मात्र नभई सिंगो देशलाई हुने बताए । देशका सबै जिल्ला र वडामा संगठन नबनाएको पार्टीलाई पनि जनताले मत दिएको उल्लेख गर्दै उनले भने, ‘जनताको विश्वासलाई मर्न नदिनुस् ।’

