काठमाडौं,२असर:एसईईमा सहभागी करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका हराएको पाइएको छ । पुनर्योगका लागि आवेदन दिएकामध्ये एक हजार हाराहारी विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको हो ।
यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । ३३ हजार ८ सय ८७ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए । तीमध्ये ३१ हजार ८ सय ५५ जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ । करिब १ हजार विद्यार्थीको नतिजा उत्तरपुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
तथ्यांकमा २ हजार ३ सय ३५ जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ । तर केहीको मिसिङ (विविध कारण नतिजा स्थगित) तर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एकभन्दा बढी पटक आवेदन दिएका कारण तथ्यांक एक हजारभन्दा बढी देखिएको अधिकारीले बताए । ‘सबैको उत्तरपुस्तिका नभेटिएको भन्ने होइन,’ उनले भने ।
सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तरपुस्तिकामा विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको छ । ग्रेडवृद्धि (पूरक) परीक्षाअघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेडवृद्धि दिन पाउने व्यवस्था छ । सोमबारदेखि देशभर पूरक परीक्षा सञ्चालन भएको छ । तर पुनर्योगको आवेदन दिएका
विद्यार्थी नतिजा नआउँदा ग्रेडवृद्धि परीक्षा दिन बाध्य भएका छन् ।
सर्लाही जिल्लाका कतिपय विद्यार्थी पुनर्योगको नतिजा खोज्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर आइपुगेका छन् । तोकिएको समयमा नतिजा नआएपछि भक्तपुर आएको छात्र रवि शाक्यले बताए । ‘कापी खोज्दै छौं । भेटिएपछि नतिजा आउँछ भनेका छन् । लापरबाही गर्दा दुःख पाइयो,’ उनले भने । मोरङका विद्यार्थी भने पुनर्योगको नतिजा नआएका कारण ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन् ।
सरकारले यस पटक परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो । सोही कारण परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेर कार्यालयमा पठाउने व्यवस्था गरिएको थियो । परीक्षा केन्द्रबाट जथाभाबी र लापरबाहीपूर्ण तरिकाले परीक्षण गरेका उत्तरपुस्तिका पोको पारेर पठाएकाले भेट्न समस्या भएको बोर्डका कर्मचारीहरूले बताए । ‘उत्तरपुस्तिका खोज्दै जाँदा झापा, इलाम, मोरङ, सुनसरी, सर्लाहीलगायत जिल्लाका उत्तरपुस्तिका विद्यालयमै भेटियो,’ परीक्षा नियन्त्रक अधिकारीले भने, ‘मगाएका छौं । आएपछि हेरेर पुनर्योगको नतिजा प्रकाशित हुन्छ ।’ नभेटिएका उत्तरपुस्तिका खोज्ने काम जारी रहेको पनि कार्यालयले जनाएको छ ।
उत्तरपुस्तिका नभेटिएका कारण सोमबार ३ सय ३९ जनाको मात्रै पुनर्योगको नतिजा प्रकाशित गरिएको थियो । जसमा १८ जनाको नतिजा परिवर्तन भएको छ । त्यसअघि ६ पटकमा ३१ हजार ५ सय १६ जनाको पुनर्योगको नतिजा प्रकाशित गरिएको थियो । त्यसमा १ हजार ८ सय १० जनाको नतिजा परिवर्तन भएको भेटिएको छ । यस वर्ष साढे ५ प्रतिशतभन्दा बढीको नतिजा परिवर्तन भएको छ । सुदिप कैनी/कान्तिपुर

