
चितवन,२९वैशाखःसापटी दिएको पैसा साथीले फिर्ता नगरेपछि भएको विवादले चितवनमा एक युवकको हत्या भएको छ ।
वैशाख २२ गते राति भरतपुर महानगरपालिका–७ बुद्धचोकमा भएको युवकको हत्या आरोपमा प्रहरीले उनैको साथीलाई पक्राउ गरेको छ ।
बुद्धचोकको सम्भव अटो वर्कसपमा काम गर्ने ३० वर्षका आशिष खनालको हत्या आरोपमा प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट–१७ बस्ने कृष्णबहादुर खड्का र स्याङ्जा जगतभञ्ज्याङ घर भइ पोखरा बस्ने सम्राट गुरूङलाई पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले आइतबार पोखराको एक होटलबाट समातेको हो ।
चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार रूपन्देहीको सैनामैना घरभएका आशिष र कृष्णबहादुर ५÷६ वर्षदेखि मिल्ने साथी थिए । सम्भव अटो वर्कशपमा उनीहरू दुवैले तीन दिन जति सँगै काम गरेकका थिए । ’तीन महिनाअघि उनीहरू तीन दिन जति सँगै काम गरेका रहेछन् । त्यो बेला आशिषले कृष्णको पैसा लगेको देखिन्छ ।यत्ति नै भन्ने छैन केही हजार रूपैयाँ जति पैसा दिएको भन्ने खुल्न आएको छ,’ पुरीले भने।
पैसा नतिरेपछि कृष्णले आशिषको मोबाइल फोन लगेका थिए । त्यही मोबाइल फोन माग्न थालेपछि विवाद बढ्दै गएको प्रहरीले जनाएको छ । ’आशिषले कृष्णलाई पटक पटक फोन, म्यासेज गरेर मोबाइल मागेको र कृष्णले नदिएको देखिन्छ । विवाद बढ्दै जाँदा हत्याको घटनासम्म भयो,’ पुरीले भने ।
कृष्ण मादक पदार्थ खाएर नशाको सुरमा विवाद गर्न गएको र घटना भएको प्रहरीले जनाएको छ । कृष्ण घटनाको मुख्य व्यक्ति भए पनि सम्राटले कृष्णलाई लुक्न सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए ।

