वीरगन्ज, ३ वैशाखःप्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच शुक्रबार वीरगन्जस्थित नारायणी टीबी शाह क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएको आर्मी अपराजित रहँदै फाइनलमा पुगेको हो भने पहिलो पटक फाइनलमा स्थान बनाएको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछ ।
लिग चरणमा आर्मीले खेलेका ९ मध्ये ८ खेलमा जित निकाल्दा एक खेल अनिर्णित रह्यो । १७ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको आर्मीको नेट रनरेट २.४७१ रहेको छ । सन्तुलित ब्याटिङ र अनुशासित बलिङका कारण आर्मी प्रतियोगिताभर प्रभावशाली देखिएको छ ।
कप्तान विनोद भण्डारीको नेतृत्वमा रहेको टोलीमा अनुभवी खेलाडीहरूको उपस्थिति बलियो पक्षका रूपमा देखिएको छ । कुशल मल्ल र साहेब आलमजस्ता खेलाडी उत्कृष्ट लयमा रहँदा आर्मी फाइनलमा समेत दाबेदार टोलीका रूपमा उभिएको छ ।
दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको सुदूरपश्चिमले ९ खेलमध्ये ६ मा जित र ३ मा हार व्यहोर्दै १२ अंक जोडेको छ । उसको नेट रनरेट ०.६०२ रहेको छ । पहिलो पटक फाइनलमा पुगेको सुदूरपश्चिमका लागि यो ऐतिहासिक अवसर हो । टोलीका कप्तान शेर मल्लले टिमलाई सन्तुलित रूपमा अघि बढाएका छन् । पछिल्लो समय टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, जसले फाइनललाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।
साबिक विजेता नेपाल पुलिस क्लब भने यसपटक फाइनलमा पुग्न असफल भएको छ । ९ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा सीमित प्रहरीको प्रदर्शन यस संस्करणमा अपेक्षाकृत कमजोर रह्यो । अघिल्ला दुई संस्करणमा लगातार उपाधि जितेको पुलिस यसपटक लय कायम राख्न असफल भएको हो ।
प्रधानमन्त्री कपको इतिहासमा पुलिसले सर्वाधिक चार पटक उपाधि जितेको छ भने सशस्त्र प्रहरीको एपीएफ क्लबले दुई पटक र आर्मी क्लबले एक पटक उपाधि जितेको छ । पहिलो संस्करणमा आर्मी र नेपाल पुलिसले संयुक्त रूपमा उपाधि जितेका थिए । त्यसयता विभिन्न संस्करणमा पनिस विभागीय टोलीहरूको वर्चस्व देखिँदै आएको छ ।
फाइनल खेलमा अनुभवी र अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति निर्णायक बन्न सक्ने देखिएको छ । आर्मीका कप्तान भण्डारीसँगै कुशल मल्ल र साहेब आलमले टोलीलाई मजबुत बनाएका छन् भने सुदूरपश्चिमतर्फ कप्तान शेर मल्ल र हेमन्त धामी जस्ता खेलाडी उत्कृष्ट लयमा छन् । जारी प्रतियोगितामा धामी र लामिछानेले समान २५–२५ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन्, जसले फाइनल खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
अपराजित आर्मीको निरन्तरता कायम रहने कि पहिलो पटक फाइनल पुगेको सुदूरपश्चिमले नयाँ इतिहास रच्ने भन्ने चासोबीच हुने यो प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।शंकर आचार्य /कान्तिपुर

