काठमाडौँ,२वैशाख: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा उनको नाम पनि समेटिएको हो ।
टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूचीमा उनलाई नेता क्याटोगोरीमा समेटेको हो । टाइमले ३६ वर्षीय शाहलाई ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ।
फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको म्यागजिनले उल्लेख गरेको छ । सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौँको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय तहमा लैजाने चुनौती अब उनीसामु रहेको टाइमले टिप्पणी गरेको छ ।
यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाहसँगै विश्वका अन्य शक्तिशाली नेता तथा प्रतिष्ठित व्यक्तित्वहरू पनि अटाएका छन् । राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहु जस्ता नामहरू समावेश छन्। त्यस्तै, व्यापार र प्रविधिको क्षेत्रबाट गुगलका सुन्दर पिचाई, अर्बपति माइकल डेल, डेभिड एलिसन र टेस्ला तथा स्पेसएक्ससँग आबद्ध ग्विन सटवेल प्रभावशाली १०० को सूचीमा परेका छन् ।
कला तथा मनोरञ्जनको विधामा बलिउड अभिनेता रणवीर कपूर, हलिउड अभिनेत्रीहरू जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरो र चर्चित गायक ल्युक कोम्ब्स अटाएका छन्। साथै, खेलकुदका हस्ती स्कट्टी सेफलर, हिलारी नाइट, लान्डो नोरिस र सामाजिक सञ्जालका प्रसिद्ध व्यक्ति ‘मिस्टर बिस्ट’ पनि यो प्रतिष्ठित सूचीमा समेटिएका छन्। नवप्रवर्तन र विचारको क्षेत्रमा डारियो अमोदेई, निकी ग्लेजर र विकास खन्ना जस्ता व्यक्तित्वहरूले पनि स्थान बनाएका छन्।
नेपालका प्रधानमन्त्री शाहका लागि टाइममा लेखिएको लेखमा भनिएको छ, ‘बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ।’साभार:राताेपाटी

