
माधुरी महत्तो
वीरगन्ज, ०२ बैशाख : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले जितको पहिलो खाता खोलेको छ ।
महानगरको जारी मतगणनामा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाका रियाज अहमद मिया विजयी भएका छन् ।
मिया वडा अध्यक्षमा विजयी भएसंगै महानगरमा जसपाले जितेको पहिलो खाता खोलेको हो ।
वडा अध्यक्षमा निर्वाचित मियाले १०९९ मत ल्याउनु भएको हो । उहाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बासदेव राउत अहिरले ९५२ मत मात्रै पाए । एमालेका उम्मेदवार अहिरलाइ १४७ मतले पछि पार्दै मिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०७४ को निर्वाचनमा पनि मिया वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस बेला राजपाबाट उम्मेदवार बनेका उनले ८९० मत पाएका थिए ।
वीरगन्ज महानगरमा अहिले वडा नम्बर १ , २ , ३ , ३० र ३१ को मतगणना जारी छ ।

