सिमरा,२४चैत : आयोजक जीतपुर–सिमरा स्पोट्र्स क्लबमाथि रोमाञ्चक जित हात पार्दै मकवानपुर जिल्ला क्रिकेट संघले तेस्रो जीतपुर–सिमरा क्रिकेट कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ । जीतपुर–सिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा मकवानपुरले आयोजकलाई ६ रनले पराजित गरेको हो ।
मकवानपुरले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको आयोजकले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो । आयोजकका राहुल यादवले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ३५ रन बनाए पनि हार टार्न सकेनन् । ६ विकेटको पतनपछि मैदानमा आएका राहुलले अविजित रहँदै चार छक्का र एक चौका प्रहार गरे ।
यसै गरी राहुल हकले ३७, विकास सर्राफले २६, कमलेश दासले १८, रजनिश मण्डलले १२ रन बनाए । अन्य पाँच ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आयोजकलाई रोक्ने क्रममा साकार गजुरेलले तीन विकेट चट्काउँदा रोहित ठाकुर र विशाल फुयाँलले दुई–दुई विकेट हात पारे । निकेश श्रीवास्तवले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा आठ विकेट गुमाएर १५२ रन जोडेको थियो । मकवानपुरका ओपनर गोकुल अधिकारीले ३५ रन जोड्दा राजा अहमदले १९, विशेषविक्रम थापाले १८, विशाल फुयाँलले १४ र युविन बुढाथोकीले १३ रन बनाएका थिए । आयोजकका आशिफ शेख र रेहान जाकिरले दुई–दुई विकेट लिँदा राहुल यादव, रोहन यादव र रितेश यादवले एक÷एक विकेट हात पारे ।
खेलको प्लेयर अफ दि म्याच मकवानपुरका साकार गजुरेल घोषित भए । साकारलाई नविन खड्काले पुरस्कृत गरे । यसैगरी समिर लुईटेलले जनकपुर बोल्ट्सको जर्सी हस्तान्तरण गरे । प्रतियोगिता अन्तर्गत बुधबार चितवन जिल्ला क्रिकेट संघ र आयोजकबीच हुनेछ । चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ ।साभारःअन्नपूर्णपोष्ट

