Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : वीरगन्जमा कर्णाली र लुम्बिनीबीचको खेल वर्षाले अवरुद्ध

वीरगन्ज, ७ चैत : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । वीरगन्जको नारायणी क्रिकेट मैदानमा शनिबारदेखि सुरु प्रतियोगिताको पहिलो खेल पानी (वर्षा) परेपछि रोकिएको हो ।

वर्षा सुरु हुनुअघि कर्णालीले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको छ । कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ र सुनिल धमलाले ७ रन बनाएका छन् । लुम्बिनीका बलर सन्देश थापाले चार ओभर बलिङ गर्दै १२ रन खर्चिएका छन् भने राजेन्द्र बमले तीन ओभर बलिङ गर्दै एक मेडनसहित आठ रन दिएका छन् ।

यसअघि लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । खेल सुरु भएको केही समयमै वर्षा सुरु भएपछि खेल रोकिएको नेपाल क्रिकेट संघ (क्यान) मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए ।

वर्षाकै कारण जनकपुरको रामजानकी रंगशालामा शनिबार हुन लागेको कोशी र मधेस प्रदेशबीचको खेल पनि प्रभावित बनेको छ । जनकपुरको रामजानकी रंगशालामा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेकोमा वर्षाले उद्घाटन समारोह समेत प्रभावित भएको कोषाध्यक्ष जयसवालले बताए ।

यस पटकको प्रधानमन्त्री कप मधेस प्रदेशका दुई (वीरगन्ज र जनकपुर) तथा काठमाडौंको तल्लो र माथिल्लो मुलपानी गरि चार रंगशालामा हुँदैछ । प्रतियोगिताको फाइनलसहित १९ वटा खेल वीरगन्जमा र उद्घाटनसहित १७ वटा खेल जनकपुरमा हुनेछन् भने बाँकी १० वटा खेल तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

आईसीसी विश्वकप लिग २ को तयारीका लागि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री कपको कुनै पनि खेल हुने छैन । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि रंगशालामा तय भएका सबै खेल मुलपानी रंगशालामा सारेको छ ।

झण्डै एक महिनासम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात वटा प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता टोली हो ।

 

Related posts

ठोरीमा तिजकप फुटबल सुरु, बसन्तपुर युनाइटेड क्लबको विजयी सुरुवात

MadhesKhabar

सर्वाधिक छक्कासहित आजको खेलमा नेपालले बनाएका विभिन्न विश्व कीर्तिमानहरु

MadhesKhabar

भारत र न्युजिल्यान्डबिचकाे पहिलाे सेमिफाइनल खेल भाेलि

MadhesKhabar

Leave a Comment