
वीरगन्ज,२३फागुनःपर्साको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार भई पराजित भएका पूर्वमन्त्री अजयकुमार चौरसियाले निर्वाचनबाट आएको जनादेशलाई आँफुले सहर्ष स्वीकारेको बताएका छन्।
शनिबार मतगणनाको अन्तिम नतिजा सार्वजनिक भई रास्वपाका उम्मेदवार सुशील कुमार कानु विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चौरसियाले भनेका छन्,‘लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो निर्णय हो।पर्सा–२ का आदरणीय मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूले दिएको जनादेशलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’
पर्सा–२ मा रास्वपाबाट निर्वाचित सुशील कुमार कानुलाई जितको बधाई तथा सफल कार्यकालको शुभकामनासमेत उनले दिएका छन् । जनताले चाहे जस्तो परिवर्तन र अपेक्षा पूरा होस् भन्ने आफ्नो कामना रहेको भन्दै चौरसियाले निर्वाचनमा माया, विश्वास र साथ दिने सम्पूर्ण मतदाता, नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
राजनीतिमा जित–हार स्वाभाविक कुरा भएको भन्दै उनले जनतासँगको आफ्नो सम्बन्ध कहिल्यै नटुट्ने बताएका छन् । उनले लेखेका छन्,‘ म पहिले पनि हारेर यही जनताको बीचमा रहेको थिएँ,आज पनि यहीँ छु,र भोलि पनि यही जनताको साथमै रहनेछु।
पर्सा–२ का जनताको अधिकार, विकास र भविष्यका विषयमा आफ्नो आवाज र प्रयास निरन्तर रहने उनले बताएका छन् ।

