वीरगन्ज, फागुन १६: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ मा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।
तथा संरक्षण नेपालको आयोजना र महिला, कानून र विकास मञ्चको सहयोगमा मकवानी गाउँमा एकदिने कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा करिब ६० जना मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत समुदायका महिला र किशोरीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरुलाई मतपत्रको बनावट, मतदान गर्ने सही तरिका, मतपत्र पट्याउने प्रक्रिया, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा मतदानका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिइएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले जानकारी दिए। उनका अनुसार निर्वाचनमा बदर मत घटाउने उद्देश्यले व्यवहारिक अभ्यास समेत गराइएको थियो।
सहभागीहरुलाई नमूना मतपत्र मार्फत अभ्यास गराई मतदान प्रक्रियाप्रति आत्मविश्वास बढाउने प्रयास गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष विजय गैरले यस्तो कार्यक्रमले स्थानीय महिलाहरुमा मतदानप्रति जागरुकता बढाएको बताए। “हाम्रो वडामा विभिन्न समुदायका महिलाहरुको बसोबास छ र शैक्षिक अवस्था कमजोर भएकाले मतदानमा बदर हुने जोखिम थियो। यो कार्यक्रमपछि उनीहरुमा स्पष्टता आएको छ,” उनले भने।
संरक्षण नेपालका कृष्ण प्रसाद यादवका अनुसार कार्यक्रममा सहभागी अधिकांश महिलाहरुले मतपत्र भर्ने र मतपेटिकामा सुरक्षित राख्ने प्रक्रिया सफलतापूर्वक अभ्यास गरेका छन्।
स्थानीय तहमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले आगामी निर्वाचनमा महिला सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
j

