Madhes Khabar
राजनीति समाचार

कांग्रेसको आन्तरिक मूल्याङ्कन : मधेसका धेरै क्षेत्रमा चुनौती, बारा–४ मा रास्वपाका रहबर बलियो

वीरगञ्ज, फागुन १६: आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले गरेको आन्तरिक सर्वेक्षणले मधेस प्रदेशका ३२ प्रत्यक्ष सिटमध्ये १३ क्षेत्रमा मात्रै आफू अनुकूल अवस्था देखिएको निष्कर्ष निकालेको छ।

पार्टी स्रोतका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसको अवस्था कमजोर देखिएको छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी अन्य प्रतिस्पर्धीभन्दा उल्लेख्य रूपमा अगाडि रहेको आन्तरिक प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षणमा संलग्न एक नेताले नाम नखुलाउने शर्तमा बारा–४ मा कांग्रेस निकै पछि परेको जानकारी दिए।

कांग्रेस उपसभापति तथा चुनावी परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले देशभरका उम्मेदवारहरूको अवस्थाबारे प्रतिवेदन संकलन गरिरहेको बताइएको छ। पार्टीले औपचारिक रूपमा २२ जना प्रतिनिधि खटाएको र अनौपचारिक रूपमा करिब ४ सय जनामार्फत सूचना संकलन गरिरहेको जनाएको छ।

प्राप्त रिपोर्टहरूको विश्लेषणअनुसार कांग्रेस देशभर प्रत्यक्षतर्फ ५८ सिटमा अग्र अवस्थामा रहेको दाबी गरिएको छ। तर मधेसभित्र केही क्षेत्रमा प्रतिस्पर्धा कडा देखिएको छ। बारा–४ बाहेक बारा क्षेत्र नम्बर १ मा भने कांग्रेस अग्रस्थानमा रहेको कांग्रेसकै आन्तरिक मूल्याङ्कनले देखाएको छ।

त्यसैगरी सर्लाही १ र ४, महोत्तरी १, धनुषा ३ र ४, रौतहट १ र २, सप्तरी १ र ४, सिरहा २ मा पनि कांग्रेसले अनुकूल स्थिति रहेको दाबी गरेको छ।

समानुपातिकतर्फ यसपटक मत बढ्ने आकलन पनि पार्टीले गरेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जित्दै समानुपातिकमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको थियो। त्यसबेला तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गर्दै १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ सिट जितेको थियो।

यसपटक भने सबै १६५ क्षेत्रमै उम्मेदवारी दिएको कांग्रेसले प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बन्ने दाबी दोहोर्‍याएको छ।

Related posts

फेरी बढ्यो पेट्रोल–डिजेलको भाउ

MadhesKhabar

कांग्रेसमै रहेर कांग्रेसलाई कमजोर बनाउने हर्कत अब सह्य हुदैन : सहमहामन्त्री यादव

MadhesKhabar

प्रदेशसभा सदस्य उम्मेदवार डा.मधु निरन्तर मतदाताको घरदैलोमा

MadhesKhabar

Leave a Comment