वीरगन्ज ४, फागुन:पर्सा क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेले आफू राजनीति लोकप्रियता कमाउन नभई जनताको सेवाका लागि आएको बताएका छन्। मतदातासँगको भेटघाट तथा संवादका क्रममा उनले विकास र सुधारलाई केन्द्रमा राखेर स्पष्ट एजेन्डा सार्वजनिक गरेका हुन्।
पाण्डेले कृषि क्षेत्रको रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्दै साना किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, मलखाद तथा सिँचाइको सहज व्यवस्था मिलाउने र बजार व्यवस्थापन सुधार गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रको आधुनिकीकरणमा जोड दिँदै उनले प्रविधि तथा सीपमूलक कार्यक्रममार्फत शिक्षाको गुणस्तर वृद्धि गर्ने र स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरी गुणस्तरीय सेवा विस्तार गर्ने योजना प्रस्तुत गरे।
उनले युवालाई नेपालमै सम्मानजनक रोजगारी र सीपको अवसर सिर्जना गर्ने, महिलाको वास्तविक नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता बढाउने तथा जेष्ठ नागरिकका लागि समुदाय–आधारित सहयोग र सम्मान सुनिश्चित गर्ने विषयलाई पनि आफ्नो एजेन्डामा समेटेको बताए।
सांसद निर्वाचित भए नियमित जन–प्रतिवेदन प्रस्तुत गर्दै प्रत्यक्ष जवाफदेहिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले भने,
“म नारा होइन, संरचना बनाउन चाहन्छु। म भीड होइन, भविष्यसँग उभिन चाहन्छु। यदि राजनीति सेवा हो भने, म त्यसलाई अभ्यासमा देखाउन चाहन्छु।”

