वीरगन्ज ४,फागुन:प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार गर्न पाइने भएको छ। निर्वाचन आयोगका अनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्नेछन्।
निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राख्दै दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ। आयोगको निर्देशनअनुसार अब उम्मेदवारहरूले औपचारिक रूपमा मतदातासमक्ष पुगेर मत माग्न पाउनेछन्।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। साथै आचारसंहिता उल्लङ्घन भएको अवस्थामा राजनीतिक दल तथा उम्मेदवारलाई पत्र काटेर स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले चेतावनी दिएको छ।
निर्वाचन आयोगले आचारसंहिता राजनीतिक दल र सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको स्मरण गराएको छ। सबै राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाइसकेको आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको जानकारी दिए।
उनका अनुसार उल्लङ्घनकर्तालाई स्पष्टीकरण सोधिने र प्रमाण तथा अवस्थाका आधारमा सचेत गराउने, दण्ड–जरिवाना गर्ने तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था रहेको छ।
यसैगरी, दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गरेर प्रचारप्रसार गर्न सक्नेछन्।
आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था पनि आयोगले गरेको छ।
आयोगले निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने उल्लेख गरेको छ।

