वीरगन्ज,२५माघ:पर्सा निर्वाचन क्षेत्र नंवर २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नंबर २७ घुर्मी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम गरेको छ। स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त कार्यक्रममा सामाजिक सुरक्षा, रोजगारी, शिक्षा र सुशासनका विषयलाई केन्द्रमा राख्दै रास्वपाले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेको छ।
घरदैलोका क्रममा रास्वपा उम्मेदवार सुशील कानुले जेष्ठ नागरिकलाई घरमै वृद्धभत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए। लामो समयदेखि वृद्धभत्ता लिन बैंकमा धाउनुपर्ने बाध्यता खेप्दै आएका जेष्ठ नागरिकका लागि घरदैलोमै सेवा उपलब्ध गराउने व्यवस्था अत्यावश्यक रहेको स्थानीयको भनाइ थियो।
यस्तै, जेन्जी युवाहरूका लागि रोजगारी सिर्जना, महिलालाई स्वरोजगारका अवसर, उच्च सीपमूलक तालिम तथा सोही स्तरको उच्च शिक्षाको व्यवस्था रास्वपाको प्रमुख एजेन्डा रहेको उम्मेदवार कानुले बताए। उनले आफू निर्वाचित भएसँगै यी आधारभूत समस्याहरूको समाधानका लागि पहल गरिने स्पष्ट पारे।
स्थानीयवासीसँगको संवादका क्रममा उम्मेदवार कानुले समयको मागअनुसार प्राविधिक शिक्षाको विकास अपरिहार्य रहेको उल्लेख गर्दै सीप र रोजगारीलाई जोड्ने नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। “सीप बिना रोजगारी सम्भव छैन, र रोजगारी बिना समृद्ध समाज निर्माण हुँदैन,” उनले भने, “स्थानीय स्तरमै प्राविधिक शिक्षा र तालिमको पहुँच विस्तार गरिनेछ।”
घरदैलो कार्यक्रममा सहभागी स्थानीयले पुरानै नारा र आश्वासनबाट दिक्क भइसकेको प्रतिक्रिया दिँदै व्यवहारिक र परिणाममुखी विकासको आवश्यकता औंल्याएका थिए।

